युरो कप छनौट : ईङ्ग्ल्याण्डको शानदार जीत



०९ चैत्र २०७५, काठमाडौं

सन् २०२० मा हुने युरो कप छनौट खेलअन्तर्गत भएको आफ्नो पहिलो खेलमा रसिया विश्वकपको चौथो टोली ईङ्ग्ल्याण्डले शानदार जीतको सरुवात गरेको छ ।

शनिबार बिहान भएको समूह ‘ए’को खेलमा ईङ्ग्ल्याण्डले चेक रिपब्लिकमाथि ५–० को फराकिलो जित निकाल्यो । आफ्नो घरेलु मैदानमा ईङ्ग्ल्याण्डलाई फराकिलो जित दिलाउनेक्रममा रहिम स्ट्रलिङले ह्याट्रिक गरे ।

त्यस्तै, ह्यारी केनले पेनाल्टीबाट १ गोल गरे भने १ गोल उपहार पायो । ईङ्ग्ल्याण्डले खेलको २४औं मिनेमा स्ट्रलिङको गोलबाट अग्रता लिएको थियो । सो गोलमा सान्चोले पास मिलाएका थिए ।

त्यसपछि ईङ्ग्ल्याण्डका लागि पहिलो हाफको इन्जुरी समयमा केनले पेनाल्टीबाट गोल गर्दै खेल २–० बनाए । पछि खेलको ६२औं मिनेटमा स्ट्रलिङले घरेलु टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि स्ट्रलिङले खेलको ६८औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनको तेस्रो गोलमा बार्केलीले असिस्ट गरेका थिए ।

त्यसपछि खेलको ८४औं मिनेटमा रिपब्लिकका तोमस कलसले आत्मघाती गोल गरेपछि ईङ्ग्ल्याण्डले ५–० को फराकिलो जित निकाल्यो ।

यो जितसँगै ईङ्ग्ल्याण्डले पहिलो खेलबाटै ३ अंक बटुलेको छ । ऊ ३ अंकसहित आफ्नो समूहको शीर्ष स्थानमा छ । सो समूहमा बुल्गेरिया र मोन्टेनेग्रोले समान १–१ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्