१३ चैत्र २०७५, काठमाडौं
इटालियन क्लब युभेन्ट्सले आफ्ना चोटग्रस्त खेलाडी क्रिस्टियानो रोनाल्डोको चोटबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
युभेन्ट्सले आज आफ्नो अफिसियल वेबसाइटबाट ३४ वर्षीय पोर्चुगिज फरवार्ड रोनाल्डोको चोटबारे विज्ञप्ती निकालेको हो ।
युभेन्ट्सद्वारा जारी विज्ञप्ती अनुसार रोनाल्डोको तीघ्रामा सामान्य चोट मात्रै परेको छ ।
क्लबले यसलाई ‘तीघ्राको सामान्य चोट’ भनेर उल्लेख गरेको छ ।
अघिल्लो दिन युरो कप छनौट खेलमा सर्बियाविरुद्ध खेल्नेक्रममा रोनाल्डोको दायाँ तीघ्रामा चोट परेको थियो ।
जसका कारण उनी खेलको ३०औं मिनेटमा मैदान छाडेका थिए । सो खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
रोनाल्डो अप्रिल ६ मा हुने एसी मिलानविरुद्धको खेलबाट मैदान फर्किनेछन् ।
त्यसपछि युभेन्ट्सले अप्रिल १० मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आयाक्ससँग उसकै घरमा खेल्दैछ ।