१३ चैत्र २०७५, काठमाडौं
सरकारले १० हजार अस्थायी शिक्षकलाई बिदा गर्ने भएको छ ।
स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गर्ने तयारी सरकारले गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी गरिने बताएका छन् ।
जसका लागि पाँच अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ । आगामी असार मसान्तपछि अस्थायी शिक्षकलाई विदाई गरिने बताईएको छ ।
हाल देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग छन् । सरकारले केही समयअघि गठन गरेको कार्यदलले अपुग शिक्षकको तथ्यांक संकलन गरेको थियो ।
अपुग शिक्षकको तथ्याङ्कसहितको प्रतिवेदन कार्यदलले मन्त्रिपरिषद्मा बुझाइसकेको छ ।
शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार भने ३४ हजार ४०८ शिक्षक अपुग देखिएको छ ।
मन्त्रिपरिषद्ले निर्णयपछि शिक्षक पदस्थापन र दरबन्दी मिलान गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।