१३ चैत्र २०७५, काठमाडौं
इन्टरनेशनल एशोसिएशन अफ एथलेटिक्स फेडेरेसन (आईएएएफ)ले नेपाल एथ्लेटिक्स संघलाई निलम्बनको चेतावनी दिएको छ ।
आईएएएफले युवा तथा खेलकूद मन्त्रालयलाई पत्रचार गर्दै नेपाल एथ्लेटिक्स संघले समयमै निर्वाचन गर्न नसकेको कारण देखाउँदै निलम्बन गर्ने चेतावनी दिएको मन्त्रालयले जनाएको छ ।
आईएएएफले गत मार्च १५ मा गरेको पत्रचारमा नेपाल एथ्लेटिक्स संघले एक वर्षसम्म नयाँ नेतृत्वका लागि निर्वाचन गर्न नसकेको स्मरण गराउँदै आईएएएफको विधान मिचिएको उल्लेख गरी निलम्बनको चेतावनी दिएको हो ।
पत्रमा छिटो निर्वाचन नगराईएको खण्डमा निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय, क्षेत्रीय र महादेशीय प्रतियोगितामा भाग लिनसमेत वञ्चित गरिने उल्लेख छ ।
एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले पत्र आएको पुष्टि गर्दै चाँडोभन्दा चाँडो सङ्घको निर्वाचन गर्ने बताए ।