१४ चैत्र २०७५, काठमाडौं
जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस एथ्लेटिको मड्रिडका डिफेन्डर लुकास हर्नान्डेजलाई किर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।
जर्मन लिगको साबिक विजेता बार्यनले विश्वकपविजेता खेलाडीलाई किर्तिमानी ८० मिलियन पाउन्डमा ५ वर्षका लागि भित्र्याएको हो ।
यससँगै लुकास अब विश्व फुटबलकै सर्वाधिक दोस्रो महँगा डिफेन्डर बनेका छन् । पहिलोमा इंग्लिस टोली लिभरपुलका भर्जिल भान डाइक हुन् ।
फ्रान्सले सन् २०१८ मा रसिया विश्वकप जित्दा लुकास पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले जुलाई १ बाट जर्मन लिग बुडेन्सलिगामा डेब्यु गर्नेछन् ।
अनुबन्ध हुनुअघि मेडिकल जाँचमा लुकासको दायाँ घुँडाको लिगामेन्टमा चोट लागेको पाइएको थियो । बुधबार उनको शल्यक्रिया गरिएको छ ।