निगमले एयरबस संञ्चालनमा ल्याएसँगै सकियो बोइङ युग



१५ चैत २०७५, काठमाडौं

नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड भएको छ । मलेसियामा दुई महिना मर्मत गरेर गत माघ २ गते काठमाडौं आइपुगेको यो जहाज विमानस्थलमा थन्किएकै तीन महिना नाघेको छ ।

काठमाडौं आइपुगेकै दिन विन्ड सेन्सरले काम नगरेपछि थन्किएको जहाज फेरि बनाएर उडाउने हिम्मत नगरेकै कारण निगमका निम्ती उडान इतिहास बनेको बोइङ युग सकिएको छ । निगमले बोइङलाई विस्थापित गरेर चारवटा जहाजसँगै एयरबस युग सुरु गरिसकेको छ ।

यसअघि निगमले भएकै बोइङको बी ७५७ एसीए जहाज कवाडीमा बेचिसकेको छ । जहाज बीबी एयरवेजले किनेको भए पनि अझै विमानस्थलबाट नहटाएका कारण त्यसको पार्किङ शुल्क भने निगमकै जिम्मेवारीमा छ । बीबीले जहाज नहटाएका कारण बेचिसकेको जहाज पनि निगमलाई अझै टाउको दुखाइ बनेको छ । निगम अर्को जहाज बेच्ने तरखरमा भए पनि सरकारी अनुमति पर्खिरहेका कारण अनुमति आउँदा जहाज कौडीको भाउमा पुग्छ भन्ने चिन्तामा पनि छ । यो समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्