१५ चैत्र २०७५, काठमाडौं
आईपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराती भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैँलोरलाई ६ रनले पराजित गरेको हो ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।
बैंगलोरका लागि एबी डे भिलियर्सले अविजित रहदै ७० रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान विराट कोहलीले ४६ रन जोड्दा पार्थिव पटेलले ३१ रन बनाए ।
मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ र सुर्यकुमार यादवले ३८ रनको योगदान दिए भने १४ बल खेलेका हार्दिक पाण्ड्या ३२ रनमा नटआउट रहे ।
मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ३७ रनले पराजित भएको थियो भने बैंगलोरको यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा बैंगलोर साबिक विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो ।