‘चेल्सीमा मेरो ध्यान’भन्दै, गोञ्जालोले दिए अर्जेन्टिनाबाट सन्यास !



१५ चैत्र २०७५, काठमाडौं

चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् ।

यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएको बताएका छन् ।

उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । तर सन् २०१८ को फिफा विश्वकपपछि उनले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

उनले सन्यास लिँदै भनेका छन् ‘मैले यो निर्णय लिएर केहि समय परिवार र मेरो छोरीसँग बिताउन चाहन्छु । मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसके जस्तो लाग्छ,’ उनले भने, ‘ मेरो ध्यान अहिले पूर्ण रुपमा चेल्सीप्रति केन्द्रित छ । प्रिमियर लिग साँच्चै नै रमाइलो छ । म यस प्रतिस्पर्धात्मक लिगमा रम्न चाहन्छु ।’

राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनलाई लिएर सधैं आलोचित हुँदै आएका हिगुआइनले राष्ट्रिय टोलीबाटै तीन महत्त्वपूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए ।

सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गर्नु उनको महत्त्वपूर्ण प्रतियोगिता मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्