१६ चैत्र २०७५, काठमाडौं
देशभरिका कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनमा नयाँ नेतृत्वका लागि शनिबार मतदान हुँदैछ ।
बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालका लागि २५ औंँ नेतृत्व चयन समेत गर्दैछ । काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको निर्वाचन समितिले जनाएको छ ।
२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवं महासचिव पदमा ३/३ जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एशोसिएशन, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा मतदान केन्द्र छन् ।
देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एशोसिएशनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन् । यसैगरी काठमाडौं बाहिर ३४ मतदान केन्द्र तोकिएको छ ।
सबै मतदान केन्द्रमा मतपत्र, मतदाता नामावली, निर्वाचन आचारसहिंता, स्थानीय मतदान समितिका प्रतिनिधिको विवरण पठाईसकिएको जनाईएको छ ।
बार एशोसिएशनको मतदानको लागि १९६ मतदाताले मतदान केन्द्र स्थानान्तरण गराएका छन् ।