१७ चैत्र २०७५, काठमाडौं
रोनाल्डोबिनाको लिग लिडर युभेन्ट्सले इटालियन सिरी ‘ए’मा कठिन जित निकालेको छ ।
घरेलु मैदानमा गएराती भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई १–० गोलले हरायो । युभेन्ट्स स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाबिनै मैदान उत्रिएको थियो ।
तर, रोनाल्डोको अनुपस्थितिमा पनि युभेन्ट्सले कठिन जित निकाल्यो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । युभेन्ट्सले खेलको ७२औं मिनेटमा गोल गरेको थियो । मोइस केनले गरेको गोलनै युभेन्ट्सको जितमा प्रयाप्त बन्यो । मोइस ६९औं मिनेटमा अतिरिक्त समयमा मैदान छिरेका थिए । उनले मारियो मान्डुज्कीको पासमा गोल गरेका थिए ।
जितसँगै शीर्ष टोली युभेन्ट्सले २९ खेलबाट ७८ अंक बनाएको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको नापोलीभन्दा १८ अंकले अगाडी छ ।