१८ चैत्र २०७५, काठमाडौं
फ्रान्सेली लिग अन्तर्गत आईतबार पेरिस सेन्ट जर्मेनले टुलुजलाई पराजित गर्दा युवा फरवार्ड किलियन एमबाप्पेले खेलको एकमात्र गोल गरेका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा एमबाप्पेले गरेको गोल नै निर्णायक सावित भयो । उनले बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गरेको फिनिस पीएसजीको जितका लागि पर्याप्त रहयो ।
एमबाप्पेको यो जारी लिगमा ३१ औं गोल पनि हो ।
पीएसजीले त्यसअघि नै गोल गरेको भएपनि भिडियो असिस्टेन्ट रेफ्रीले मार्किन्होसको गोललाई मान्यता दिएको थिएन । यस जितसँगै पीएसजीले लिगको शीर्ष स्थानमा २० अंकको अग्रतालाई कायम राखेको छ ।
पीएसजीले लिगका २९ खेलमा ८० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लिलले २९ खेल खेल्दै ६० अंक जोडेको छ ।