English premier league : म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन सुरु !



२० चैत्र २०७५, काठमाडौं

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फेरी कमजोर प्रदर्शन सुरु गरेको छ ।

ओले गुनर सोल्सायर म्यानचेष्टरको अस्थायी प्रशिक्षक हुँदासम्म अधिकांश खेल जितेर चमत्कार गरेको युनाइटेडले सोल्सायर स्थायी प्रशिक्षकमा नियुक्त भएपछि खराब प्रदर्शन गरेको हो ।

स्काट टोमिनाईले १३ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो जोटाले २५ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५७ औं मिनेटमा पाहुना टोलीका कप्तान एस्ले योङ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित बनेको थियो ।

क्रिस स्मलिङले ७७ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल उल्भ्सको पक्षमा गएको थियो ।

पछिल्लो हारले शीर्ष चार भित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने युनाइटेडको लक्ष्यमा धक्का लागेको छ ।

लिगमा ३२ खेलबाट पाँचौं स्थानमा रहेको युनाइटेडको ६१ अंक छ भने ३१ खेलबाट ६० अंकको चेल्सी छैटौं स्थानमा छ ।

लिभरपुल ७९ अंकसहित पहिलो, म्यानचेष्टर सिटी ७७ अंकसहित दोस्रो, आर्सनल ६३ अंकसहित तेस्रो र टोटनह्याम ६१ अंकसहित चौथो स्थानमा छ ।

म्यानचेष्टर युनाइटेडले वुल्भरलाई हराएको भए मंगलबार राति तेस्रो स्थानमा पुग्ने थियो ।

 

प्रतिक्रिया दिनुहोस्