२२ चैत्र २०७५, काठमाडौं
विश्व फुटबलका दुई स्टारद्वया रोनाल्डो र मेस्सीबीचको उत्कृष्टतालाई लिएर वर्षौदेखि केही विवादहरु परेको देखिन्छन् ।
विशेषगरी खेलाडीद्वय रोनाल्डो र मेस्सीको आफ्नो फ्यानहरुले यसलाई बेलाबेला झनै ताजा बनाउँने काम गर्दछन् ।
हाल बार्सिलोनाबाट खेलिरहेका ३१ वर्षीय अर्जेन्टिनी मेस्सी र हाल युभेन्टसबाट खेलिरहेका ३४ वर्षीय पोर्चुगिज रोनाल्डो दशकदेखि विश्व फुटबलको केन्द्रमा रहँदै आएका छन् ।
यसैबीच, रोनाल्डोको पूर्वक्लब रियल मड्रिडका पूर्वखेलाडी तथा लिजेन्ड गुटीले रोनाल्डो र मेस्सीबारे धारणा राखेका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीलाई रोनाल्डोभन्दा उत्कृष्ट खेलाडी भनेका छन् ।
“आधुनिक फुटबलमा मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने विवाद छ । यो अझै रहनेछ । उनीहरूले आफ्नो करिअरमा जति सफलता पाएका छन्, क्लबलाई पनि उत्तिकै सफलता दिलाएका छन् ।” उनले भने ।
यी दुवै खेलाडी करिअरमा उत्तिकै सफल मानिन्छन् । दुवैले विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर समान ५–५ पटक जितेका छन् ।
गुटीले खेल कौशलका हिसाबले रोनाल्डो मेस्सीजति नरहेको बताए ।
“मेसी ज्यादै प्रतिभावान् खेलाडी हुन् । रोनाल्डो उत्कृष्ट गोलकर्ता हुन् । मेस्सी रोनाल्डो जतिका उत्कृष्ट फिनिसर होइनन् । र, रोनाल्डो मेस्सीजतिका प्ले मेकर होइनन् ।”