फिफा नयाँ वरियताक्रम सार्वजनिक, नेपाल सोही स्थानमा आसिन !



२२ चैत्र २०७५, काठमाडौं

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियता क्रम सार्वजनिक गरेको छ । उसले आज नयाँ वरियता जारी गरेको हो ।

सार्वजनिक नयाँ वरियता मा नेपाल १६१औं स्थानमा छ । नेपाल यसअिघ पनि सोही स्थानमा रहेको थियो ।

यता, विश्व वरियता को टप–३ मा साबिककै अवस्था छ । जहाँ पहिलो स्थानमा बेल्जियम छ भने विश्वविजेता फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रोमा छ । त्यसपछि इंग्ल्यान्डले भने एक स्थान सुधार गर्दा विश्वकपको उपविजेता क्रोएसिया एक स्थान तल झरेर चौथोमा आएको छ ।

त्यसैगरी, उरुग्वे एक स्थान माथि उक्लिएको छ भने पोर्चुगल एक स्थान तल झरेको छ । यीबाहेक स्वीट्जरल्यान्ड, स्पेन र डेनमार्कले समेत टप–१० मा स्थान बनाएका छन् ।

टप–१० बाहिर अर्जेन्टिना ११औं, कोलम्बिया १२औं स्थानमा छन् । यसपटक जर्मनीले भने चार स्थान सुधार गरेर १३औंमा चढेको छ ।

यता, दक्षिण एसियाली क्षेत्रमा भारत पहिलो नम्बरमा छ । भारतले यसअघिको भन्दा दुई स्थान सुधार गरेको हो । ऊ १०१औं स्थानमा चढेको छ ।

त्यसपछि माल्दिभ्स एक स्थान सुधार गर्दै १५१औं स्थानमा उक्लिँदा भुटान भने १८६औं स्थानमा यथावत रहेको छ । बंगलादेशले ४ स्थान सुधार गर्दै १८८औं स्थानमा चढ्दा पाकिस्तान एक स्थान तल झरेर २००औं स्थानमा छ ।

श्रीलंका पनि एक स्थान तल झरेर २०२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्