२२ चैत २०७५, काठमाडौं
एक जना मान्छे एक मुरी बोक्न सक्छ । उसलाई पन्ध्र पाथी बोक्न दिँदा सजिलै हुन्छ । उसले बोक्न सक्छ भन्दैमा बिसाउन नदिने हो भने पक्कै ऊ थाक्छ । भोक, तिर्खा र थकाइले त्यही भारी कता फ्याँकौँ जस्तो हुन्छ । त्यति हुन धेरै समय चाहिँ पक्कै लाग्छ । ठिक त्यस्तै भयो नि मलाई यो ‘पर्खालभित्रको प्रेम’ । यो फेरि मेरै प्रेमको कथा चाहिँ होइन नि, किताबको नाम हो । मञ्जुश्री के.सी. प्रधान ‘रानु’ले लेख्नुभएको । सानो किताब देखेर मैले कस्तो रहेछ भन्दै पढ्न खोजेँ । यसले भरिया थाक्ने कुरो पो सम्झायो । त्यसैले किताबका शीर्षक लेखीकन त्यहाँ भित्रका अलि अलि कुरा तपाईंका लागि सारिदिएको छु । यसरी सार्दा शब्दको हिज्जे मेरो बानी अनुसार राखिएको छ । वाक्य चाहिँ जस्ताका तस्तै राखिएका छन् । भिन्न ठाउँको कुरो आएपछि अनुच्छेद नै बदलिएको छ । जता वाक्य पूरा छैन त्यता थोप्ली (०) दिइएको छ । पूर्णविराम (।) दिएर चाहिँ पूरा वाक्य सारिएको हो ।
चकलेटी ब्वाइफ्रेन्ड-
हुन त ऊ फुच्चे ब्वाइफ्रेन्ड हो । फुच्चे शब्द उसलाई मन पर्दैन होला ।
माया त हो, जसले जसलाई पनि गर्न सक्छ ।
हुन त ऊ मेरो सपनाको राजकुमार, म उसको सपनाकी स्वप्न परी तैपनि दु:ख त छँदै छ ।
छातीभित्रको उही पुरानो रिक्तता-
नबोल्ने भगवान्लाई आफ्नै भजन सुनाएर अर्काको बगैँचाको फूल चढाएर आफूतिर आकर्षित पार्न जान्नेहरूसँग कसको के लाग्छ र ?
०कथाहरू रित्ता भित्ताहरूलाई सुनाउन म बाध्य भएझैँ हुलमा छु तर एक्लै ।
एकातिर तेल तातेको कराई छ । अर्कातिर आगोको भुङ्ग्रो छ ।
सधैँ चुलुम्म भइदिँदाको क्षण अमूर्त चित्रभन्दा पनि अझै अमूर्त छ । त्यसैले आर्तनादका प्रणहरू सुन्ने र बुझ्ने क्षमता हामीमा छ । यो भोगाइ भोगाइ हो, पागलपन होइन ।
मेरो ड्रिम ब्वाई-
०यस्तै ड्रिमब्वाई थियो । जो छ्याके, काले, ध्वाँसे, अनि गरिब । उसको गरिबी नै मेरो मनको ड्रिम थियो ।
उसको गरिबीमै सुख महसुस गर्न पाऊँ । बासी एक गाँस भातलाई आधा आधा गाँस बाँडेर खाऊँ ।
जिउन जीवनसाथी होइन, साहस चाहिँदो रहेछ । मान्छे बाँच्नुको पछाडि बाध्यताहरू हुन्छन् ।
सांसारिक सुख सयलका लागि मान्छेको तृष्णा काकाकुलपछिको तिर्खा जस्तै हो ।
पानी उसको सामु छ तर ऊ खान सक्दैन । पानी केही गरी खाइहाले पनि उसको तिर्खा मेटिँदैन ।
अप्राप्य वस्तुहरूको चाहना, अगम्य मार्गहरूको भ्रमण, दुर्लभ भेटघाटहरूको कामना, अनन्त दूरीको सफर ।
मेरो आफ्नै उचाइ, उन्नति, प्रगति छ । म कसैको धागोमा उनिन चाहन्नँ । तर म त्यो सौन्दर्य पनि छोड्न चाहन्नँ किनकि जसले मलाई मेरो ड्रिमब्वाईको सामु पुर्याएको छ ।
अन्तिम प्रेम रेल्वे स्टेसनको-
समय यसरी चोरको चालमा लुपुक्क लस्केर जान्छ । जिन्दगी उकाली ओराली गर्दै सुट्ट डाँडामाथिको घाम बनिदिन्छ ।
हामीले खुसी हुनुपर्छ कल्पनै कल्पनाको मया महसुस गर्न पाउँदा । हाम्रो माया माया हो । बाध्यता थिँदै थिएन ।
अँधेरी साँझमा मूल सहयोगी एक छुट्यो अरु बटोहीले मलाई निर्घात लुट्तै गए । ऊ खुकुरी भयो म अचानो भएँ । मेरो काँधमा कसैले थप्थपायो । म झस्केर फर्किएँ र तर्सिएँ ।
एउटा अनुहारको खोजीमा-
आजकल तस्बिर पुरानिँदै, आकृति धमिलिँदै गइरहेछ । चिप्ले किराले झैँ मैले जो आफ्नो बाटो आफैँ मेट्दै (लिप्दै) गएँ ।
०सबैले आफ्नो हातहरू कोट र पेन्टमा घुसारेर हिँड्न थालेका छन् । अरु बाँकीले पन्जा लगाएर खास्टोभित्र हात लुकाएका छन् । यो सहर नै यस्तो छ, जसको पनि हात हेर्न नपाइने कारण यहाँ हरेक नङमा रातो खाटा छ०
०जसको नाक काटिएको छ । त्यसका लागि झुम्के बुलाकी भएझैँ मूल्यविहीन वस्तु भएर कसरी पैताला सार्न सकिन्छ ।
मेरो खुसीमा खुसी र दु:खमा दु:खी हुने पनि गइसकेछन् । मेरो मासु लुछेर खानेहरू पनि मेरो तिखा हाडदेखि तर्सिसकेका छन् । ती सबै पनि जाने क्रम जारी छ ।
जीवनबाट समय झिकिदियो भने धान बनाएर झिकेको भुस मात्र बाँकी हुनेछ ।
उनी गएपछि : पानाहरू सम्झनाका-
ती गुनिला आत्माको प्रत्यागमनसँगै कौसीमा बर्सेका असिना हीरा भए, आकाशमा लागेको बादल इन्द्रेनी भए० ।
०मैले त्यो ठुलो सहरमा चौँतीस हिउँद खपेको छु, उही चौबाटोको यादमा ।
अँध्यारो कोठाको कुसनमा जग बसालेकाहरूका लागि कौसीको उज्यालो कस्तो छ, के थाहा ?
मान्छेको वैरी मान्छे : कस्तो उग्रचण्डी सिकारी र कुकुरद्वारा खेदिएको मृगजस्तो फस्न पुग्छ०
भेट एक संयोग मात्र-
जिन्दगीलाई मैले बाटोको संज्ञा दिएको छु । यो बाटो सधैँ म र म जस्ताहरूलाई बोक्नमा व्यस्त छ । बाटोभित्र धेरै बोकाइहरू छन् । कतिपय बोकाइभित्र सुन्दर सौहाद्रहरू छन् । पीडाबोधका नमिठा छापहरू पनि छन् ।
हुन त बैँसमा स्याल पनि घोर्ले नभएको त होइन नि । म पनि त के कम० ?
०मैले आफूलाई पानीमा भिजाएर उसको तस्बिरलाई छाता ओढाएको छु ।
मनै त हो जता जहिले जहाँ पनि बस्छ । यो जाबो मन पग्लिदिन्छ । कठै मन पग्लँदा पग्लँदै उसले बाध्य बन्नुपर्छ ।
हामीले प्रमाण खोजेको इतिहास लिखितबाट मात्रै परिपूर्ण हुन सक्छ । मान्छेले आफ्नो वर्तमान इतिहास लेख्न नसकेर केही उदाहरणीय भूतकालीन इतिहासका भग्नावशेष बोकेर भविष्यको परिकल्पना गर्दछन् ।
०भाग्ला भनेर घेरेको बिचरो सालिकझैँ उभिनुपरेको छ ।
यथार्थमा गाँसिएको रहर-
०वेदना व्यथाहरू अमूर्त भएर अडेको छ । जीवन जगत्को सम्बन्धमा खिया लागेको भान हुन्छ । त्यसैले यथार्थमा गाँसिएको रहर मात्र पाल्नुपर्छ नत्र सदा सर्वदाका लागि रहर पाल्न छोड्नुपर्छ ।
चेतना र ज्ञानले गर्दा निद्रबाट परै भयौँ । कैयौँ पटक न भेट न चिठ्ठी न कुनै सञ्चार न कुनै खबर कटौरो च्यापेर मागिरहेको शरणार्थीझैँ बेखबर भयौँ ।
थोरै समयमा धेरै कोर्नु छ । तर पनि अधैर्य र हडबड गर्ने बानी परेको छ ।
फेरि उनको याद आयो-
यो जीवन गणितको जोडघटाउपछि निस्कने परिणाम होइन ।
जीवन सरल र जटिलको सञ्जाल हो, जसलाई चलाउन जान्नु एक कला हो । जीवन दौड बीचको हार र जित हो ।
बिहानै सबेरैको उनको गोपीकृष्ण सुसेलीको आवाज टेलिफोनमा सुन्दा दिनभरको कामले पनि थकाइ लाग्दैन थियो ।
नयाँ वर्षको आगमनसँगै चिसो रातको हुरीमा कसैको चित्कार मुटुको कुनामा स्मृति भई आउँछ ।
०म घडीको बाह्र अङ्क, जति बज्न लाग्दा पनि दोस्रो सुईले बाह्र अङ्कमा छुनुपर्छ० ।
एउटा छाल आउँदा-
छाल हरेक पटक आउँदा किनारा भत्काएर जान्थे ।
०हिजो पाएँ, आज पाएँ, अस्ति पाएँ, हप्तौँ पाएँ, महिनौँ पाएँ, वर्षौं पाएँ, नदीको उकाली ओराली पाएँ । सबै ऋतुहरू पाएँ । ती छालहरूमा प्रिय पाएँ । मैले उनलाई हुलमै पाएँ ।
मैले आनन्द महसुस गरेको छु एउटा छालसँग ।
पर्खालभित्रको प्रेम-
कस्तो महत्वपूर्ण पर्खाल बाबु, छोरा, दाजु, भाइ, बहिनी बीचको पर्खाल । वल्लो पल्लो घरको पर्खाल । पारिवारिक पर्खाल, घरपरिवारको पर्खाल, छिमेकी छिमेकी बीचको पर्खाल, अचम्मको छ । पर्खालविना मान्छे बाँच्न सक्तैन ।
०दु:खहरूलाई तपसिलमै राखेर आफ्नै निर्देशनमा हाम्रो प्रेमकथा उकालो लाग्न थाल्यो ।
मायाको अतृप्त अनुभूति-
०उसमा धेरै शारीरिक परिवर्तनहरू आएका रहेछन् । म छक्क परेँ उनको व्यवहार देखेर । ऊ पहिलेको भन्दा भिन्न भएर प्रस्तुत भएको थियो ।
तिनै अतृप्त अनुभूति सम्झेर एउटा अँध्यारो साँझसँग सम्झौता गरिराखेका छौँ ।
गुनासो जिन्दगीसँग-
०बुटले किचेको दुबो जस्तो जिन्दगीसँग सम्झौता गर्दै आज म सिभिलमलको पार्किङ पुग्दा उनको फोन आउँछ, तिमी छिटो माथि आऊ चौथो तलामा है भनेर फोन काट्छ । म हतार हतार भर्याङ चढ्छु, ऊ सजिएर मेरो प्रतिक्षामा बसेको रहेछ ।
अचम्म लाग्छ, हाम्रो सम्बन्ध सधैँ नजिक नै होस् जस्तो कस्तो विडम्बना, आखिर छाना त हाम्रो छुट्टै छ ।
गुमाउनु पनि छैन । पाउनु पनि छैन । बेतलबी बिदा जस्तो हाम्रो जिन्दगी ।
मेरो समय टुक्रा टुक्रामा बाँडिएको छ-
टुक्रा टुक्रा समयले अथाह निराशा समेटेको छ । अधुरा आकाङ्क्षाहरू लिएर हिँड्दा आधा बाटो पुग्दा नपुग्दै समयको परिवर्तनसँगै मानव स्वभाव हतारिन पुग्छ । धेरै सपना चिरा चिरा भएर जान्छन् । मनमा आँधी र तुफान बोकेर० ।
०मेरो विश्वास अटल छ, अडिग छ । त्यसैले आजसम्मको साथ रोक्न सकेको छु । मेरो समय टुक्रा टुक्रा भएर बाँडिए पनि ।
कल्पनामा उनी भेटिँदा-
मर्न जति सहज आफ्नो खुसीमा हुन्छ, बाँच्न त्यति नै गाह्रो छ । दुखियाको आँसु पुछ्न र पीडितको व्यथा सुन्न म अल्मलिएको थिएँ ।
मुल्तबी फाइलको चाङ जसले खोल्न चाहेमा खोल्न सकिने त्यसैले यो सफेद पोकोलाई आफैँले कल्पना गरी खोल्न सकिन्छ ।
मेरो प्यारो पुरातात्विक डायरी-
एउटा भविष्यमा पनि हामी थुप्रै सम्भावनाहरूको सिर्जना गर्न सक्छौँ । उज्यालो अँध्यारो भएर हाम्रो आँखाहरूले शेष खोजिरहन्छन् ।
०हाम्रो हरेक भेटमा हाम्रो पहिरन एकै रङको हुन्छ । त्यसैले मेरो प्यारो सपना तिमी सधैँ सधैँ आऊ मलाई बिपना मन पर्दैन ।
अनह्याप्पी लभर्स-
छिन छिनमा मलाई खोज्दै हिँड्छ उनी किनकि म पनि जन्मदिनको खुसीयालीमा केही मिठोचोखोको तयारीमा लाग्थेँ । तर उनी मलाई खोज्दै आउँथे र आमाको काखबाट हराएको बच्चा भेट्दा झैँ उनी मलाई भेट्ना साथ अँगाल्दै जताततै चुम्बन गर्न चाहन्थे । कस्तो विडम्बना यति हुँदा हुँदै पनि कुनै कुराले पनि हामीलाई जिन्दगीभर साथ दिएन ।
उनको मायामा पागल हुन पनि नसकिने समाज अगाडि सिङ्गै उभिएको छ । उनी मेरो मायामा पागल हुन पनि सक्दैनन् । उनका सामु पनि एउटा पागल समाज छ ।
म पर्खी बस्छु झम झम झरीको यादमा-
सहरमा जन्मेर गाउँमा हुर्केकी म सहर र गाउँ दुवैमा मोह बसेको छ । मलाई याद आइरहन्छ त्यो गाउँको जहाँ मैले कालो पाटी बोकेर पढ्न गएको स्कुल, बुढा मास्टरले नाकको डाँडीमा गोलो चस्मा अडाएर बाह्रखरी रटाएको दिन मलाई प्रस्टै छ । भोक लाग्दा घरछेवैकी डोटेल्नी भाउजूले दया गरेर दिएको सख्खर र चिउरा० ।
०माया लाएर कहिल्यै नसकिने । भोक लाग्छ, खाना खाइन्छ । त्यो सकिएर जान्छ । जाडो हुन्छ, कपडा लगाइन्छ । त्यो पुरानो हुन्छ । फाटेर जान्छ तर यो माया जहाँ पनि लाउन मिल्ने ।
उनी आए जीवनरूपी यात्रामा-
०विधिको विचित्र विडम्बना जति खुर्किंदै गयो त्यति थपिँदै जान्छ । आफ्नो मनको व्यथा कसैलाई नसुनाईकन बस्नुपर्ने बाध्यता छ यहाँ । आफ्ना अधुरा सपना अधुरै राखी बस्नुपर्दाको क्षणमा दोलालघाट र देवघाटको यादले सताइरहन्छ ।
उनी बसेको ठाउँबाट उठेर जान सकिरहेका थिएनन् । मैले उनलाई जाऊ भन्न सकिरहेकी पनि थिइनँ । किनकि एक्लै पटक पटक भौँतारिएको टुहुरी थिएँ म । माया भन्ने थाहा नपाएको बिचरो बबुरो जस्तै घोत्लिएको बेला उनले मलाई साथ दिएको मान्छे ।
एक डायरी जिउने आधारको-
उसलाई भेट्टाउँछु केवल आफ्नो स्वर्णिम सपनामा अनि डायरीका पानाहरूमा । केही दिनदेखि म एउटा डर लाग्दो डायरी लेख्ने योजनामा थिएँ ।
जीवन जिउने हिम्मत दिने यिनै डायरीका अक्षरहरू हुन् । मेरा लागि राता, पहेँला कुर्था, राता लिपिस्टिकहरूका अपूरा चाहनाहरूसँग म आफैँ अपरिचित हुँदै गएँ ।
अकथनीय व्यथा अन्तरालको-
मभन्दा अगाडि बाटोमा खच्चरहरू धुलो उडाउँदै हिँडिरहेका थिए । म भने गह र गलामा जुगौँको अकथनीय व्यथाको छाल रोकी जति सक्यो त्यति खपेर अड्न पारिवारिक अग्नि माथि टेक्दै बजारमा आफ्नो लासलाई घिसार्दै थिएँ ।
उनी थिए, वसन्त थियो । फूल फुल्थे, बगैँचा हराभरा थियो । सीमित हुँदै उनी गए, मिनी गल्फ जस्तो ।
निथ्रुक्क भिजेको जिन्दगी-
असार साउनको झरी मध्यरातमा मात्तिएको मान्छेझैँ कहिले सुस्त पदचाप र कहिले चट्याङ गर्जेझैँ सम्झाउन खोज्छ ।
नातागोतामा ओतसम्म लाग्न मिल्छ । भोकप्यास मेटाइसकेपछि कुलेलाम ठोक्छन् । नाताहरू रोटीवाला र भोको कुकुर बीचको क्षणिक माया हुँदो रहेछ० ।
अर्गानिक माया-
जीवन सोचे जस्तो नहोला तर कोसिस गर्दा र जान्दा सारै आनन्द आउँछ । वास्तवमा जीवन जिउन जान्नुपर्छ आनन्दै आनन्द छ ।
खिन्चेत तिम्रो र मेरो बीचको कुरा तिमी र म बीचमै रहोस् भन्ने ठान्छु, किनकि सबैको विचार एकै हुँदैन ।
म त टुक्रै टुक्रा पो रहेछु-
०म भुईंमा खसेर टुक्रा भएको सिसालाई हेर्दै एक, दुई, तीन भन्दै गन्छु, ती हरेक टुक्रामा म आफैँलाई पाउँछु । अनि सोच्छु, म त फुटेको सिसा जस्तो पो रहेछु, जोड्न नमिल्ने । म त टुक्रै टुक्रा पो परेछु ।
यही आकाशको मुखडाबाट म के अर्थ लगाऊँ । म नै त्यही आकाशझैँ बिलखबन्दमा छु ।
एउटा च्याप्टर जिन्दगीको-
०स्वतन्त्रतामा उडेको पुरानो उडान आकाशभरिका किंवदन्तीका पोकाहरू जिन्दगीभरिको कमाइ जस्तो थियो ।
०जीवनको अर्थ कहाँ खोज्नु द्विविधामा परेको जिन्दगीमा । द्विविधा कसैको रोजाइ होइन । आआफ्नो भागमा परेको हुन्छ ।
सिधा रेखाको जिन्दगी-
०कल्पना जिन्दगीको रङ विचित्रको छ । जो आफ्नो छ त्यो नजिक हुँदैन, जो आफ्नो होइन ऊ सधैँ नजिक हुन्छ । उही रङ रङको जिन्दगानी जस्तो जिन्दगीको यो अनौठो अनि विचित्रको विडम्बना ।
०मूल बाटोमा धुलाले छोपिएको सालिकलाई कसैले देख्दैनन् । समयको अन्तरालले गर्दा मलाई कसैले नचिन्लान्० ।
सुखद झल्को जिन्दगीको-
०रातले आफूलाई लुकाउने प्रयास गरिरह्यो । यो रात अडिरहोस् भन्ने चाहना हुँदा हुँदै बिहानीले चिहाइहाल्यो । हामी एक अर्कामा समर्पित थियौँ । गाडीको सिसाभित्रैबाट बाहिर हेर्दै नहेरी० ।
यही भूत, वर्तमान, भविष्य यी तीनैकोे बेजोड नाम हो ‘हाम्रो जिन्दगी’ ।
यसरी जिन्दगीको उठानबाट किताबको उठान भएको छ । परिभाषा दिँदै पुस्तकलाई हुर्काइएको छ । जिन्दगीलाई अर्थपूर्ण बनाउँदै किताबको समाप्ति भएको छ । पाठकहरूलाई मैले टिपेका कुरा मन परे भने पुस्तक नै पढ्नुहोला । यस्ता टिपोट गर्ने कुरा अरु धेरै पाउनुहुनेछ ।
यो टिपोट प्लास्टिकका थैलाभित्र राखेको रसभरी जस्तै हो । रसभरीको स्वाद लिन थैलो खोल्नुपर्छ । यी वाक्य प्रयोग भएका लेख पढ्न पनि किताब नै खोल्नुपर्छ । किनभने हिमाल धेरै ठुलो छ । हाम्रा आँखा त्यसका तुलनामा अति साना छन् । हामी यिनै साना आँखाले त्यो ठुलो हिमाल देख्छौँ । हिमालभन्दा घर निकै सानो छ । घरका पछाडि गयौँ भने त्यही सानो घर मात्रै हाम्रा आँखाले देखिन्छ, हिमाल देखिँदैन । हामी परको चिज देख्छौँ, आफूभित्र भएको देख्तैनौँ । त्यसैले उखान बन्छ- ‘आफ्ना आँगनको भैँसी नदेख्ने अर्काका आङको जुम्रो ।’ यहाँ जीवनको परिक्रमा छ । जीवनमा कोही सुखी मात्रै छ, कोही खुसी मात्रै छ, कोही सुखी र खुसी दुवै छ, कोही सुखी र खुसी दुवै छैन । आँखा र विचार गर्ने मन आफ्नै हो । कसलाई कस्तो लाग्छ त्यो त आआफ्नो रुचिले पर्गेल्ने हो । किताबका विषयमा लेख्न मन लाग्यो र यति नै लेखियो ।