२३ चैत्र २०७५, काठमाडौं
स्पेनिस ला लिगा फुटबलमा आज उपाधी टार्गेटमा रहेका दुई बलिया टोली बार्सिलोना र एथ्लेटिको मड्रिडको रोमाञ्चक भिडन्त हुँदैछ ।
यी दुई टोली सिजनको दोस्रो भेटमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भिड्न लागेका हुन् ।
हाल शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको दुवैका लागि आजको खेल ज्यादै महत्त्वपूर्ण छ ।
समान ३० खेलपछि हाल बार्सिलोना ७० अंकसहित शीर्ष स्थानमा छ भने एथ्लेटिको ६२ अंकसहित दोस्रो स्थानमा छ । अहिले बार्सिलोना ८ अंकले अगाडि छ ।
लिग लिडर बार्सिलोना आज आफ्नो घरमा हुने यो खेल जितेर स्पष्ट रूपमा उपाधितर्फ अघि बढ्ने योजनामा छ । यदि आज उसले एथ्लेटिकोमाथि जित हात पारे ३१ खेलपछि ११ अंकको अग्रता लिएर ऊ उपाधिनजिक पुग्नेछ ।
यता, दोस्रो स्थानको एथ्लेटिको भने आज बार्सिलोनाको घरमा हुने यो खेल हारहालतमा जित्ने दाउमा छ । यदि आज पराजित भए एथ्लेटिको पनि उपाधि होडबाट अनौपचारिक रूपमा बाहिरिनेछ ।
आजको खेल क्याम्प नोउमा राति १२ः३० बजेबाट सुरु हुनेछ । लिगका आजै अन्य ३ खेल पनि हुनेछन् ।