भारतसामु बलियो सावित हुने प्रयासमा नेपाल मैदान उत्रदैँ !



२३ चैत्र २०७५, काठमाडौं

जापानको टोकियोमा २०२० मा आयोजना हुने ओलम्पिक प्रतियोगिताका लागि म्यानमारमा जारी दोस्रो चरणको महिला फुटबल छनौटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

६ महिनाअघि पहिलो चरणमा बराबरी खेलेको नेपाल दोस्रो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दुई साताअघि घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतविरुद्ध हार व्यहोरेको नेपाल बदला लिने लक्ष्यमा मैदान उत्रिँदैछ । खेल मन्डलार थिरी रंगशालामा नेपाली समयानुसार दिउँसो २स्१५ बजे सुरू हुनेछ ।

समुह ए को पहिलो खेलमा म्यानमारविरुद्ध आक्रमक खेल प्रदर्शन गरेको नेपाल त्यही लयलाई निरन्तरता दिँदै भारतमाथि जित निकाल्ने योजनामा छ ।

उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल घरेलु टोलीसँग ३/१ ले पराजित भएको थियो ।

प्रशिक्षक हरि खड्काले म्यानमारविरुद्धको लयलाई कायम राख्दै भारतविरुद्ध जितको रणनीतीमा रहेको बताए ।

समूह‘ए’ मा रहेको नेपालले अन्तिम खेलमा मंगलबार इन्डोनेशियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्