अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ले ४ दिनमै कमायो ४ करोड



०४ बैशाख २०७६, काठमाडौँ

मेघास्टार अनमोल केसी र नवनायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए मेरो हजुर ३ यतिबेला देशव्यापी रुपमा भव्यताका साथ प्रदर्शन भैरहेको छ । चलचित्र ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् ।

प्राविधिक समस्याका कारण अहिलेसम्म चलचित्र टिमले चलचित्रको टोटल कमाई सार्वजनिक गर्न पाएको थिएन । हिजो भने चलचित्र टिमले आफ्नो ४ दिनको कमाई सार्वजनिक गरेको छ । चलचित्र ए मेरो हजुर ३ ले ४ दिनमा ४ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको छ । यो ए मेरो हजुर ३ को लागिमात्र नभएर सम्पूर्ण नेपाली चलचित्र क्षेत्रको लागि नै खुसीको कुरा हो ।

ए मेरो हजुर ३ को यो कमाई यो बर्ष प्रदर्शनमा आएको चलचित्रहरुमध्ये छक्का पञ्जा ३ पछिको धेरै कमाई हो । यो बर्ष छक्का पञ्जा ३ पछि निकै आशा गरिएका चलचित्रहरु पनि निराश बन्नुपरेको थियो । यस्तोमा ए मेरो हजुर ३ ले फेरि हलमा दर्शकको ओइरो लगाइदिएको छ । चलचित्रलाई लिएर अधिकांश दर्शकले सकरात्मक प्रतिक्रिया जनाइरहेका छन् । यसकारण पनि चलचित्रको व्यापार अझ बढ्नेमा चलचित्र टिम विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्