आफ्ना चलचित्रले बक्सअफिस हल्लाउँदै झरना र दिपा



०४ बैशाख २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको संख्या निकै कम छ । केही महिला निर्देशक चलचित्र क्षेत्रमा आएर निराश भएर फर्केको उदाहरण समेत छ । तर पछिल्लो समयमा महिला निर्देशकले नै नेपाली चलचित्रलाई अगाडी बढाएका छन् ।

यो बर्ष लगभग १०५ वटा चलचित्र प्रदर्शनमा आए । जसमध्ये छक्का पञ्जा ३ बल्कबस्टर भयो । जसलाई दिपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । त्यतिमात्र नभएर छक्का पञ्जा ३ नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने चलचित्र समेत बन्न पुग्यो । छक्का पञ्जा ३ पछि फेरि हलमा दर्शक सुस्ताएका थिए । निकै आशा गरिएका चलचित्र पनि असफल बन्दा चलचित्र क्षेत्र निराश बन्ने अवस्था समेत आएको थियो ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ए मेरो हजुर ३ ले फेरि नेपाली चलचित्र क्षेत्रलाई उकालो लगाएको छ । छक्का पञ्जा पछि यो बर्षको बल्कबस्टर चलचित्रमा ए मेरो हजुर ३ ले आफ्नो नाम लेखाइसकेको छ । चलचित्र ए मेरो हजुर ले मात्र ४ दिनमा ४ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । यो सर्वाधिक कमाई हो । ए मेरो हजुर ३ लाई महिला निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् ।

यसरी हेर्दा यो बर्षका दुई बल्कबस्टर चलचित्र छक्का पञ्जा ३ र ए मेरो हजुर ३ लाई महिला निर्देशकले नै निर्देशन गरेका हुन् । अब नेपाली चलचित्र क्षेत्रमा यी निर्देशकमाथि दर्शकले सजिलै भरोसा गर्न सक्ने अवस्था आइसकेको छ । दिपा र झरनाले राम्रो चलचित्र बनाए दर्शकले पक्कै पनि माया गर्ने कुरालाई साबित गरिसकेका छन् । यसैकारण यी दुईलाई लिडिङ लेडी समेत भन्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्