०९ बैशाख २०७६, काठमाडौं
सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वराज ढकालले लेखेका छन् ।
सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको भूमिकाबारे विश्लेषण हुनेछ ।
यही वैशाख ११ र १२ गते आयोजना गर्न लागिएको सम्मेलनमा बारबर्दिया बर्दिया, होप्सेकोट नवलपरासी, वागमती सर्लाही र नरहरिनाथ नगरपालिका कालिकोट सहभागी हुनेछन् । सम्मेलनमा गाउँपालिकाको तर्फबाट पूर्वखोला पाल्पा र हल्दीबारी झापा छनोटमा परेका छन् ।
ती स्थानीय तहले सार्वजनिक विद्यालय सुधार अभियानमा गरेका कामबारे प्रस्तुतीकरण गर्नुपर्नेछ । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षामा गरेका सुधारका योजनाबारे अध्ययन गरी गाउँपालिका छनोट गरेको थियो ।