विद्यार्थीको सफलतामा रमाउने शिक्षासेवी दीपक महर्जन



१० बैशाख २०७६, काठमाडौं

दीपक महर्जन नेपाली शैक्षिक क्षेत्रमा चम्किलो शिक्षा सेवी हुन् । एआई सेकेण्डरी स्कूल सतुङगलका प्रिन्सिपलको रुपमा कार्यरत दीपक महर्जन नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल काठमाडौंको जिल्ला सदस्यको रुपमा काम गरिसकेका छन् । महर्जन हाल प्याब्सन चन्द्रागिरी नगर कमिटीको अध्यक्ष हुन् ।

महर्जनको जन्म २०२३ सालमा आमा नक्कली महर्जन तथा पिता दिलबहादुर महर्जनको कोखबाट काठमाडौं स्थित नयाँ नैकापमा भएको हो । उनले मङगल प्रावीबाट (हाल मावी) अध्ययन सुरु गरे । उनले त्यहाँ कक्षा ३ सम्म पढे । कक्षा ४ देखि उनी बिद्या मन्दिर मावी पुरानो नैकापमा भर्ना भए र एसएलसी सम्म सोही स्कुलमा पढेँ ।

उनले ताहाचल क्याम्पसबाट आइकम/बिकम तथा शंकरदेव क्याम्पसबाट एमबिए गरे भने जनप्रशासन क्याम्पसबाट एमपिए गरेका हुन् ।

शिक्षण क्षेत्रमा उनको प्रवेश २०५० सालबाट भएको थियो भने २०५३ देखी उनी प्रिन्सिपलको रुपमा एआई सेकेन्डरी स्कुलमा कार्यरत छन् । उनको शैक्षिक यात्रासँग सम्बन्धित रहेर परिवर्तन खबरकर्मी विश्व आचार्यले गरेको कुराकानीको सारसंक्षेप :

विश्व आचार्य : हाल सम्म तपाईंले पढाउने सन्दर्भमा कस्ता–कस्ता किसिमको अनुभव हासिल गर्नुभयो ? शिक्षा क्षेत्र र शिक्षक भनेको के रहेछ बास्तवमा के हो जस्तो लाग्छ शिक्षा क्षेत्र तपाईंको बिचारमा ?

दीपक महर्जन : थुप्रै अनुभव हासिल गरियो । शिक्षक भनेको माझी जस्तै रहेछ । कयौं यात्रीलाई नदी तारिदिने जस्तै । जहाँ माझिले कयौं यात्रीलाई तारेर पनि उ जहाँको त्यहीं रहेको हुन्छ । त्यस्तै यहाँ पनि विद्यार्थी अध्ययन गरिरहेका हुन्छन् र उनीहरु विश्वका कुना काप्चामा कोही डाक्टर कोही इन्जिनियर बनेर पुग्छन् हामी शिक्षक चाहीँ सधैं यहि नै हुन्छौं । मेरो अनुभव भनेको आजको समयमा विद्यार्थी नेट इन्टरनेटको प्रभावले हो या कुनै पनि कारणले पढ्न मानेन भने त्यस्तो नपढ्नेलाई हामीले उनीहरुलाई के गर्दा पढाउन सकिन्छ त्यसरी नै गर्न सक्नुपर्दो रहेछ । शिक्षक भनेको धेरै सक्रिय हुनुपर्छ ।  विद्यार्थीहरुलाई पढाउने सन्दर्भमा एकदमै समर्पित हुनुपर्छ । शिक्षा क्षेत्र भनेको समाजको सबैभन्दा ठूलो क्षेत्र हो । शिक्षा क्षेत्रले नै समाजलाई शिक्षित बनाउँछ ।

विश्व आचार्य : शिक्षा क्षेत्रमा कसरी आउनुभयो ? तपाईंको सोच शिक्षक बन्ने नै थियो कि अरु केही ?

दीपक महर्जन : भाग्यले डोर्यायो भन्नुपर्छ । सयोग मान्छु मैले चाहीँ पढाउने काम सुरु गरे र यही क्षेत्रमा स्थापित भइयो ।

विश्व आचार्य : कहिलेकाहीँ अन्य क्षेत्रमा लागेको भए हुन्थ्यो यो क्षेत्रमा लागेर गल्ती गरे भन्ने लाग्दैन ?

दीपक महर्जन : अह मलाई पछुतो लाग्दैन तर कहिलेकाहीँ के हुँदो रहेछ भने हामीहरु राज्यको नागरिक भएर यहि राज्यमा शिक्षाको लागि केही गरिरहेका छौं । हामी नागरिकले गरेको काममा राज्यले विभेद गर्दा चाहीँ खल्लो महशुस हुन्छ । हामीले शिक्षा दीक्षा दिने काम गरेका छौं । समाजलाई शिक्षित बनाउने काम गरेका छौं । यसकारण हामीले त राज्यबाट प्रोत्साहन पाउनु पर्ने हो तर उल्टो भईरहेको छ । हामीले त विद्यालय संचालन राज्यकै नीति अन्तर्गत गरेका हौं । यस्तो हुँदा बितृष्णा पैदा हुँदो रहेछ । कहिले नीजि स्कूल बन्द गर्ने भन्ने किसिमका हल्लाहरु चलाईन्छ कहिले ७ बर्षमा नीजि बिद्यालय बन्द भईहाल्छन् भन्ने किसिमका हल्लाहरु आईरहेका हुन्छन् । सरकारले उच्च शिक्षाका लागि दिईने छात्रवृत्तिमा नीजिमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिईदैन् । यो विभेदले झनै मन दुख्छ । यसले निर्वाध रुपमा काम गर्न असर पुर्याउँछ । वास्तवमा हामीले त सरकारले गर्ने काम गरेका हौं । पैसा नै कमाउनका लागि त जुनसुकै व्यवसाय संचालन गरे पनि भईहाल्छ । नीजि विद्यालय संचालकहरुलाई हेलासी गरियो भन्ने लाग्छ ।

विश्व आचार्य : राज्यले नीजि विद्यालयका लागि कस्ता कामहरु गर्न आवश्यक छ ?

दीपक महर्जन : राज्यले त हामीलाई प्रोत्साहन गर्ने किसिमको काम गर्नुपर्छ । बेलाबेलामा त्रसित पार्ने किसिमका काम गर्नु हुँदैन । प्रतिस्पर्धा गर्ने किसिमको वातावरण निर्माण गर्नुपर्छ । राज्यले हामीलाई विभेद गर्नु हुँदैन । हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीलाई शिक्षा दिने । भोलि नेपालमा राम्रो शिक्षा दिने वातावरण बनेन् भने उनीहरुले आफ्ना छोराछोरीलाई बिदेशतिर लैजाने सम्भावना प्रवल छ यस्तो अवस्थामा पूँजी पलायन हुने सम्भावना निश्चित जस्तै हुन्छ यसले राज्यलाई घाटा गराउँछ । यस्ता कुरामा राज्यले ध्यान दिनुपर्छ । नीजि विद्यालय राम्रो हुनका पछाडी लगानी राम्रो भएर हो । हरेक नीजि विद्यालय संचालकले मेरो लगानी सुरक्षित छ भन्ने कुराको महशुस गराउनु पर्दछ ।

महत्वपूर्ण कुरा भनेको नीजि विद्यालय संचालन हुँदा ठूलो रोजगारी सिर्जना भएको छ । पढाउने शिक्षकदेखि सामान्य टाइ, बेल्ट बनाउने सम्मले रोजगारी पाईरहेका छन् । यस्ता बिषयमा राज्यले सोच्नुपर्छ ।

विश्व आचार्य : यति लामो शैक्षिक यात्रामा मुख्य उपलब्धी केलाई ठान्नु हुन्छ ?

दीपक महर्जन : उपलब्धी भन्नु नै हामीले उत्पादन गरेका विद्यार्थी हुन् । आज हाम्रा विद्यार्थीहरुले विश्व बजारसँग प्रतिस्पर्धा गरिरहेका छन् । कोही डाक्टर भएका छन् कोही इन्जिनियर त कोही शिक्षक भएका छन् ।

प्राय: विद्यार्थीहरु सफलता हासिल गरेका छन् । एउटा शिक्षकको लागि यो भन्दा ठूलो उपलब्धि के हुन्छ र ! यो देख्दा नै हामीलाई आनन्दको महशुस हुन्छ । त्यसकारण उपलब्धिको मुख्य पाटो भनेको हामीले उत्पादन गरेका विद्यार्थी नै हुन् ।

विश्व आचार्य : चन्द्रागिरी नगर कमिटीको अध्यक्षको हिसाबले कस्ता योजनाहरु बनाइरहनु भएको छ ?

दीपक महर्जन : हामीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको व्यवस्था गर्नेछौं । शिक्षकलाई विषयसँग सम्बन्धित तालिम दिइनेछ । त्यो उत्प्रेरक पनि हुनेछ ।

विश्व आचार्य : अन्त्यमा तपाईंले भन्न मन लागेको कुरा केही छन् भने बताइदिनुन् ?

दीपक महर्जन : शिक्षा क्षेत्रमा नीजि लगानीको  संरक्षण हुनुपर्छ । नीजि स्तरमा संचालित विद्यालयहरुलाई अंकुश लगाउनु हुन्न । राज्यले नीजि विद्यालयको योगदानलाई सम्मान गर्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा लगानी गर्न पाउने कुरालाई राज्यले इन्कार गर्नु हुँदैन । समग्र शैक्षिक क्षेत्रको उन्नयन र प्रगतिका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ भन्ने कुरा व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्