एनओसीका अध्यक्ष तथा सांसद श्रेष्ठद्वारा दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ टेक्निकल वर्कसपको उद्घाटन



१५ बैशाख २०७६, काठमाडौं

वर्ल्ड एन्टी डोपिङ एजेन्सीको सहयोगमा काठमाडौंमा शुक्रबार दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ टेक्निकल वर्कसप सम्पन्न भएको छ । सो वर्कसकपको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले गरेका थिए । उनले सो वर्कसपबाट यस क्षेत्रले डोपिङका विषयमा रहेका नयाँ नियम तथा विषयमा जानकारी प्राप्त गर्ने र आगामी दिनमा यस क्षेत्रमा सच्चा खेलको अवधारणलाई बलियो बनाउन सहयोग पुग्ने बताए ।

‘दक्षिण एसिया क्षेत्रमा डोपिङको विषयमा रहेका कमी कमजोरीका चुनौती चिर्नका लागि यो वर्कसपले योगदान दिने मैले विश्वास लिएको छु,’ उनले भने । उनले नेपालले २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्न लागेकाले एन्टी डोपिङको विषयमा वर्ल्ड एन्टी डोपिङ एजेन्सीले जनशक्ति निर्माण तथा क्षमता विकासमा सहकार्य र सहयोग गर्ने समेत बताए । सो वर्कसकको सहजकर्ता वर्ल्ड एन्टी डोपिङ एजेन्सीका डाइरेक्टर टोम मेले रहेका थिए । उनले पछिल्लो समयमा दक्षिण एसिया क्षेत्रमा डोपिङको विषयमा जागरुकता वृद्धि हुँदै आएको बताए । उनले शिक्षा, जागरुकता र विज्ञ तयार गर्ने विषयमा यस क्षेत्रले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

सो वर्कसपमा परीक्षण वितरण योजना, कोड अनुपालन, प्रश्नावली, सुधारात्मक एक्सन रिपोर्टलगायतका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको डा. सरोजकृष्ण श्रेष्ठले बताए । डोपिङ जोखिम, जोखिमलाई कसरी न्यूनीकरण गर्नेलगायतका विषयमा वर्कसपमा छलफल भएको थियो । कुनै पनि खेलाडीलाई कुनै पनि समयमा बिना सूचना टेस्टिङ गर्न सकिने भएकाले दक्ष जनशक्तिको आवश्यकता रहन्छ । ‘डोपिङको विषयमा ज्ञान नहुँदा रुघाखोकीको औषधि खाँदा पनि समस्या आउन सक्छ, त्यसैले यो निकै संवेदनशील विषय हो, यसमा ओलम्पिक कमिटी, सरकारले मिलेर कार्य गर्नुपर्छ,’ टोमले भने । नेपालमा डोपिङ कन्ट्रोल अफिसर १३ जना छन् ।

वर्कसपको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकटो, दक्षिण एसिया क्षेत्रीय एन्टी डोपिङ एजेन्सीका अध्यक्ष अर्जुना, डीजी माहिदलगायतको उपस्थिति रहेको ओलम्पिक कमिटीले बताए ।

  

प्रतिक्रिया दिनुहोस्