१५ बैशाख २०७६, काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उत्तरप्रदेश राज्यको वनारसबाट लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तासँगै उनले आफ्नो सम्पति विवरण समेत सार्वजनिक गरेका छन् ।
भारतीय सञ्चारमाध्यामहरुका अनुसार प्रधानमन्त्री मोदीको पछिल्लो ५ वर्षयता ५० प्रतिशतले सम्पत्ति बृद्धि भएको देखिएको छ । प्रधानमन्त्री मोदीको घरको मूल्यमा १० लाख रुपैयाँ बृद्धि भएको देखिएको छ भने उनले आफुसँग भएका ४ वटा सुनका औंठीहरु समेत सम्पतीको रुपमा सार्वजनिक गरेका छन् ।
यस्तो छ प्रधानमन्त्री मोदीको सम्पति
प्रधानमन्त्री मोदीको कूल चल-अचल सम्पति २ करोड ५१ लाख ३६ हजार १ सय १९ रुपैयाँ देखिएको छ । जबकि सन् २०१४ मा उनको सम्पति १ करोड ६५ लाख ९१ हजार ५ सय ८२ रुपैयाँ थियो । प्रधानमन्त्री मोदीको गुँजरात राज्यको गान्धीनगरस्थित घरको मूल्य सन् २०१४ मा १ करोड मूल्याँकन भएको थियो भने अहिलेको सम्पति विवरणमा १ करोड १० लाख रुपैयाँ देखिएको छ ।
मोदीले लगाउने गरेका ४ वटा सुनका औंठीको मूल्य १ लाख १३ हजार ८ सय रुपैयाँ सम्पति विवरणमा उल्लेख छ । यी औंठीको मूल्य सन् २०१४ मा १ लाख ३५ हजार उल्लेख थियो । औंठीको मूल्यमा २१ हजार घटेको देखिएको छ ।
मोदीको गान्धीनगरस्थित एसबीआई बैंकको खातामा ४ हजार, १ सय ४३, एफडीमा १ करोड, २७ लाख ८१ हजार ५ सय ७४, एनएससीमा ७ लाख ६१ हजार४ सय ६६ रुपैयाँ र एलआइसीमा १ लाख ९० हजार ३ सय ४७ रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
विवाहित रहेका भनिएपनि पारिवारिक रुपमा श्रीमतीसँगै नबसेका मोदीलाई व्यक्तिगत रुपमा सोखिन नेता मानिने गरिएको छ । उनले लगाउने सुट र चश्माको समेत संसारभर बहस हुने गरेको छ । तर त्यसको मूल्य भने समावेश गरिएको छैन ।
प्रधानमन्त्री मोदीले उत्तरप्रदेशस्थित वनारसबाट लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । सो निर्वाचन क्षेत्रमा मे १९मा निर्वाचन हुँदैछ । भारतमा अहिले ५४३ लोकसभा सिटका लागि निर्वाचन जारी छ । ७ चरणमा हुने सो निर्वाचनाको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुँदैछ । एजेन्सी