१६ बैशाख २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले खान बस्न नपाएर कोही पनि माग्दै हिड्नुनपर्ने बताएका छन् ।
राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी १५ औं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गरे ।
आयोगका अध्यक्षसमेत रहेका ओलीले भने, “हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ । त्यसैले अब कोही पनि भोका रहने छैनन् ।”
“केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।” उनले थपे ।