१६ बैशाख २०७६, काठमाडौं
झुठो विवरण देखाएर आफ्नो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीय नागरिकलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ ।
विस २०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८ र ४८ नम्बरको नागरिकता लिएका सदामा शाह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । गृहमन्त्रालयले २०६८ पुष २० गते शाहको नागरिकता बदर गरेको थियो ।
बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका शाह पक्राउ परेका हुन् । विवरण ढाटेर नागरिकता बनाउन पुगेका सुदामा शाह तेलीलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले बताए ।
साह बिरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो ।
अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताए ।