‘समृद्ध नेपाल : सुखी नेपाली ‘ राष्ट्रिय आकांक्षा पुरा गर्न बिआरआईको भूमिका



१७ बैशाख २०७६, काठमाडौं

अनिश खतिवडा

बेल्ट एन्ड रोड बेल्ट एण्ड रोड के हो ?
युरोप ,एसिया, ल्याटिन अमेरिका र अफ्रिकन मुलुकहरु चीनसँग ब्यापारिक रुपमा जोड्ने ऐतिहासिक रेसमीमार्गको बृहत रुप बेल्ट एन्ड रोड (बिआरआई) परियोजना हो। चीनको राष्ट्रपति भएपछि सि जिनपिङले २०१३ मा काजकिस्तान भ्रमणको बेला यो परियोजना बारे बोलेका थिए। सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्।

अहिले बिआरआईमा एसिया, युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन्। इसापूर्व १३० मा हान वंशको शासन कालमा सुरु भएको रेशमी मार्गले चीनलाई सिआनबाट रोमन साम्राज्यसँग जोडेको थियो। रेशमी मार्गको बहुवाणिज्य रुटले चीन, भारत, अरब, ग्रिस, रोम र समुद्र छुने अन्य मुलुकसँग जोडेको थियो। अहिले त्यही सञ्जाल ब्युँझाएर चीनले ती मुलुकसँग सहकार्य गर्दै प्रशस्त आर्थिक लाभ लिने चाहाना देखिन्छ । सुरुमा रेशमी मार्ग र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्ग जोडेर ‘वान बेल्ट वान रोड’ अर्थात् एक पेटी एक मार्ग भनिन्थ्यो। चीन र युरोप जोड्ने रेशमी मार्गलाई ‘बेल्ट’भित्र राखिएको छ भने एसिया र अफ्रिका जाड्ने सामुद्रिक रेशमी मार्गलाई ‘रोड’ले समेटेको छ। यसर्थ ‘बेल्ट एन्ड रोड’ भित्र प्रत्यक्ष रूपमा एसिया, युरोप र अफ्रिका समावेश छन्।

रेशमी मार्ग आर्थिक क्षेत्र र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई नै परिमार्जित भाषामा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् बिआरआई भनिएको हो। आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप अफ्रिका हुँदै ल्याटिन अमेरिकी मुलुकसँग स्थल तथा जलमार्गबाट जोड्ने चीनको महत्वाकांक्षी आर्थिक परियोजना हो।

बिआरआई र नेपाल
नेपाल दुई आर्थिक तथा सामरिक रुपमा बिश्वका उदयमान शक्तिशाली राष्ट्रको बिचमा रहेको भूपरिवेष्ठित अल्प विकसित मुलुक हो। यो परियोजनामा जोडिएर बेला बेला भारतको नाकाबन्दीको पीडाबाट सधैको निम्ति अन्त्य गर्दै विश्व बजारमा जल स्थलबाट जोडिने अवसर प्राप्त गर्नु नेपालीहरुको लागि खुशीको कुरा हो। पुर्वाधार र रेलवेको विकासमा चीनको प्राविधि भित्र्याउने अवसर पनि हो त्यतिमात्र होईन बिआरआईले अन्तर्राष्ट्रिय आर्थिक साझेदारी कोरिडरको अवधारणालाई बृहत् परियोजनाका रूपमा अगाडि सारेको छ। जसमा नयाँ एसिया–युरोप कन्टिनेन्टल पुल, चीन–मंगोलिया–रुस, चीन–केन्द्रीय एसिया–पश्चिम एसिया, चीन–इन्डोचाइना प्रायद्वीप, चीन–पाकिस्तान र बंगलादेश–चीन–म्यान्मार गरी ६ ठूला अन्तर्राष्ट्रिय कोरिडर छन्। यी कोरिडरले एसियाली अर्थतन्त्रको सञ्जाललाई युरोपियन अर्थतन्त्रको सञ्जालसँग जोड्नेछन् र बहुराष्ट्रिय साझेदारी सशक्त बनाउनेछ।

नेपालले आफ्नो आन्तरिक क्षमता बढाएर आफूलाई व्यवस्थित बनाउन सके विश्वको ब्यापारीक केन्द्रको रुपमा नरही आर्थिक लाभ लिन सक्छ। संसारमा चीनियाँ अर्थतन्त्रको हिस्सा २८ प्रतिशत भन्दा बढी छ भने बस्तु तथा सेवाको आपूर्ति १० प्रतिशत रहेको छ। चिनियाँ बस्तु तथा सेवा अमेरिका लगायत पश्चिमा मुलुकहरुमा अधिक रहेको छ जसले गर्दा भारतसँगको परनिर्भरता कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

बिआरआइमा आबद्ध मुलुकहरूमा चिनियाँ ठूला कम्पनीहरुले पूर्वाधार विकास,पर्यटन, कृषि, शिक्षा र प्रविधि लगायतका क्षेत्रमा निकै ठूलो लगानी गरिरहेका छन्। प्रत्येक वर्ष चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी र चीनबाट नेपाल अध्ययन गर्न आउने विद्यार्थीको संख्या समेत तिब्र रुपमा बढिरहेको छ। यस किसिमका शैक्षिक आदानप्रदानका कार्यक्रमले हाम्रो सामाजिक सदभाव, भातृत्व, सहिष्णुता, सहयोग आदानप्रदान साथै मनोबैज्ञानिक रुपमा नै सम्बन्ध बलियो हुने देखिन्छ । नेपालले अवसरको सदुपयोग गर्न सक्ने हो भने नेपाल घुम्न आउने पर्यटनको संख्यामा वार्षिक २५ देखि ३० प्रतिशत चिनियाँ पर्यटकको संख्या बढाउन सकिन्छ साथै समग्र विकासमा चीनको आर्थिक तथा प्राबिधिक सहयोगले ‘समृद्ध नेपाल : सुखी नेपाली ‘को राष्ट्रिय नारा पुरा गर्न महत्वपूर्ण योगदान पुर्याउने छ।

(खतिवडा अनेरास्ववियु पशुपति क्याम्पस कमिटीमा आवद्ध छन् ।)

प्रतिक्रिया दिनुहोस्