१९ बैशाख २०७६, काठमाडौं
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ(क्यान)को विवाद टुङ्ग्याउँन अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान पारसले यस्तो आग्रह गरेका हुन् ।
“मन्त्रीज्यूले आईसीसीसँग कुरा गरेर फुकुवा गर्नुपर्यो । हामीले धेरै कुरा गुमाईसकेका छौं ।” पारसले भने । “हाम्रो एकदिवसीय मान्यतालाई टिकाई राख्न क्यान आउनुपर्छ । हामीले अझ धेरै माथि पुग्नुछ ।”
लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेको गुनासो गर्दै उनले आईसीसीसँग कुरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।