राइड थ्रु सिन्धुलीगढी २०१९ को घोषणा, नोभेम्बरमा २ सय साइकल यात्रीलाई जनकपुरसम्म लगिने



२६ बैशाख २०७६, काठमाडौं

समृद्ध सिन्धुली अभियानले यस यस बर्ष गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको बुधबार पत्रकार सम्मेलन गरी घोषणा गरेको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष नोभेम्बर २२ देखि २५ सम्म ४ दिन हुनेछ ।

यस बर्षको साइकल यात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ ।

समृद्ध सिन्धुली अभियानले राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा घोषणा गर्न आयोजित कार्यक्रममा विश्व साइकल यात्री पुस्कर शाहले यसपालीको सिन्धुलीगढीहुँदै हुने साइकल यात्रामा आफू पनि सहभागी हुने बताए । गत बर्ष भाँडा माझ्न अष्ट्रेलिया गएकाले सहभागी हुन सकिन, उनले ठट्यौली गर्दै भने, राइड थ्रु सिन्धुलीगढीलाई निकै मिस गरेँ । यसपाली अबस्य सहभागी हुनेछु ।

कार्यक्रममा अभियन्ता सौरभ ढकालले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई पर्यटकीय दृष्टिले जोड्न हरेक बर्ष साइकल यात्रा गर्दै आएको बताए ।

यस बर्ष साइकल यात्रामा २ सय जना यात्रीलाई सहभागी गराउने आयोजकले लक्ष लिएको छ । यात्र क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सवसमेत हुने छ । काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँबाट अर्को दिन सिन्धुलीगढीमा बास बसेर यात्री जनकपुर पुग्ने छन् । जनकपुरमा जानकाी मन्दिर दर्शन गराएर साइकल यात्रीलाई बसमा काठमाडौं फर्काइने छ ।

अभियानले गर्न लागेकोे यो चौथो साइकल यात्रा हो । अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको थियो । पहाड र तराई बीचको सद्भाव विस्तार गर्न साइकल यात्राले सघाउने आफूहरुले अपेक्षा राखेको सानो सहआयोजक सानो पाइलाका कन्चन झाले बताए ।

आयोजक समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले अंग्रेजी फौजलाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्न साइकल यात्राले सघाउने बताए । उनले यसअघि ‘राइड टु सिन्धुलीगढी’ भनेर गरिँदै आएको साइकल यात्रालाई जनकपुरसम्म विस्तार गरिएकाले राइड थ्रु सिन्धुलीगढी नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई यात्रामा सहभागी गराउने योजना रहेको सुनाए । ‘सुनकोशी किनारहुँदै जाने नागबेली सडक वीपी राजमार्गहुँदै हुने साइकल यात्रामा सहभागी हुन देशविदेशका साइकल यात्रीलाई हाम्रो आग्रह छ,’ उनले भने, ‘हामी साइकल यात्रीलाई उनीहरुले तिरेको शुल्कभन्दा धेरै गुणा उपलब्धी दिने ग्यारेन्टी गर्छौं ।

काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा गरेर जनकपुरसम्म पुगिने छ । यस बर्षको साइकल यात्राको संयोजन स्टोरी साइकलकी दीपिका ज्ञवालीले गर्नेछिन् । अभियानले राइड थ्रु सिन्धुलीगढीमा जान चाहने साइकल यात्रीलाई अनलाइनमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्