२७ बैशाख २०७६, काठमाडौं
‘समाजवादी पार्टी नेपाल’ले एकताको सन्देश दिन र संगठन विस्तार गर्न काठमाडौंसहित देशका प्रमुख शहरहरूमा कार्यक्रम गर्ने भएको छ ।
बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न पदाधिकारीको पहिलो बैठकले देशका प्रमुख ८ शहरमा कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
नवगठित पार्टीका सचिव प्रकाश अधिकारीका अनुसार काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, सुर्खेत र पोखरामा कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
आगामी ११ जेष्ठमा मोरङको विराटनगरबाट सुरु गरिने कार्यक्रम जेठ २५ गते पोखरामा समापन हुनेछ ।
कार्यक्रमलाई पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले सम्बोधन गर्ने बताईएको छ ।
दुवै पार्टीको केन्द्रदेखि वडा तहसम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन ५ दिनभित्र समायोजन निर्देशिका तयार गर्न समिति समेत गठन गरिने जनाईएको छ ।
गत २३ बैशाखमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमलाई मर्ज गरि समाजवादी पार्टी नेपाल बनाईएको हो ।