लगातारको चौंथो आउटको विध्वंसः ३ स्टारलाई बेच्न क्लबलाई मेस्सीको सुझाव !



२९ बैशाख २०७६, काठमाडौं

लगातार चौंथो पटकसम्म च्याम्पियन्स लिगबाट आउट भएको बार्सिलोनाभित्र अहिले भूकम्प गईरहेको छ ।

यस सिजनको खेलको सेमिफाइनलमा क्लब लिभरपुलसँग ४–० को लज्जास्पद हारपछि क्लब बार्सिलोनाले खेलाडीमा व्यापक परिवर्तन ल्याउने सोच बनाएको छ ।

अन्तराष्ट्रिय मिडीया प्रतिवदेनका अनुसार बार्सिलोनाले यस सिजनमा ११ खेलाडीहरुलाई बेच्न लागेको छ ।

क्लबले अन्य स्किल्ड खेलाडीलाई ल्याउन अन्य खराब प्रदर्शन गरिरहेका खेलाडीलाई बेच्न लागेको हो ।

बार्सिलोनाले बेच्न लागेको खेलाडीहरुमा बेञ्चमै सिमित रहेकादेखि स्टारहरु पनि रहेका छन् ।

क्लबले इतिहासकै मंहगा खेलाडी कोउटिन्होलाई समेत बेच्न लागेको बताईएको छ ।

यस्तै क्रममा कप्तान लियोनल मेस्सीले तीन स्टारहरुलाई बेच्न क्लबलाई सुझाव दिएका छन् ।

स्पेनिस ‘मार्सा’ र ‘मुन्डो डेपोर्टिभो’का अनुसार मेस्सीले एनफिल्डमा लिभरपुलसँग खराब प्रदर्शन गरेपछि उनीहरुलाई बेच्न क्लबलाई सुझाव दिएका हुन् ।

मेस्सीले बेच्न सुझाव दिएका खेलाडीमा ब्राजिलियन फिलिपे कोउटिन्हो, फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी र क्रोएसिन मिडफिल्डर इभान राकिटि रहेका छन् ।

तर, मेस्सीले आफ्ना नजिकका साथी उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई भने नबेच्न क्लबसँग अनुरोध गरेका छन् ।

स्वारेजले बार्सिलोनाबाटै करिअर अन्त्य गर्न चाहेको बताउँदै मेस्सीले स्वारेजलाई बार्सिलोनामै राख्नुपर्ने सुझाव क्लबलाई दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्