०१ जेठ २०७६, काठमाडौं
महानगरीय प्रहरी प्रभाग कपनद्वारा आयोजित शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको लागु औषध सम्बन्धि प्रशिक्षण बूढानीलकण्ठ नगरपालिका वडा नं १० को तिरुपती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
बूनपा वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशेष अतिथि महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख मिन बहादुर कुँवर, महानगरिय सशस्त्र प्रहरी प्रभाग महाराजगञ्जका निरीक्षक प्रसन्नराज चौधरी, प्रहरी सहायक निरिक्षक प्रमानन्द भट्ट लगायत अन्य प्रभागकै टोली, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बूनपा वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठले विद्यार्थीहरुलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सहभागि हुन आवश्यक रहेको बताए । ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन आवस्यक रहेको धारणा बारे उनले प्रष्ट पारे ।
विशेष अतिथि प्रहरी प्रभाग कपनका प्रमुख कुँवरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम विभिन्न विद्यालयहरुसँग सहकार्य गरेर अगाडी बढाएको बताउँदै विभिन्न विद्यालयमा फरक फरक कार्यक्रमहरु गरेको जानकारी गराएका थिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध, साईवर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम जारी रहेको जानकारी विशेष अतिथि कुँवरले दिएका थिए ।
उक्त कार्यक्रममा लागु औषध सम्बन्धि प्रशिक्षण महानगरिय सशस्त्र प्रहरी प्रभाग महाराजगञ्जका निरीक्षक प्रसन्नराज चौधरीले लागुऔषध प्रयोग गर्दा आफू र आफ्नो स्वास्थ्यमा मात्र हैन समाजमा समेत असर पुर्याउने बताउँदै लागु औषध सम्बन्धी विभिन्न जानकारी भिडियो मार्फत दिएका थिए ।
कार्यक्रमका सभापती तिरुपती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेन्जिङ्ग भोटीयाले स्वागत मन्तव्य राख्दै लागु औषध सम्बन्धि प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरुको आफ्नो जीन्दगी बन्ने र अरुको पनि बनाउन सक्ने बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई देशव्यापी रुपमा लैजान आवस्यक रहेको बताउदै लागु औषध के हो ? यसबाट कसरी बच्ने ? स्वास्थ्य सम्वन्धी के कस्तो हानी हुन्छ ? यसका फाईदा तथा बेफाईदा लगायतबारे यहाँका मात्र नभएर सबै प्रदेशका विद्यार्थीहरुले जान्न आवस्यक रहेको प्रधानाध्यापक भोटीयाको भनाई थियो ।