०३ जेठ २०७६, काठमाडौं
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम हुने क्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ को त्रि–ज्योती माविमा प्रहरी–विद्यालय सम्पर्क अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बूनपा प्रमुख उद्धव प्रसाद खरेल, विशेष अतिथि महानगरीय प्रहरी परिसर टेकुका उपरीक्षक उत्तमराज सुवेदी, अतिथिहरुमा बूनपाका वडाध्यक्षहरु १२ शम्भु प्रसाद भट्टराई, ११ राजु अधिकारी, १० नवराज भट्टराई, महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द, महानगरीय प्रहरी परिसर टेकुका उपरीक्षक राजेन्द्र पोखरेल, कपन प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक मिन बहादुर कुँवर, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी लगायत शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले समाजको शान्ति सुरक्षाका लागि प्रहरीको आवश्यकता रहको बताउँदै राम्रो कामको लागि प्रहरी सबैको साथी भएको र हामी सबैले प्रहरीसँगको दुरी नजिक राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि महानगरीय प्रहरी परिसर टेकुका उपरीक्षक सुवेदीले नेपाल प्रहरी र स्थानीय सरकार मिलेर समाजमा हुने सामाजिक विकृति, लैङ्गीक हिंसा, बाल अपराध, यौन दुर्व्यवहार लगायत विभिन्न किसिमका समस्या न्यूनिकरण गर्न आवश्यक रहेको बताए ।
उपरीक्षक सुवेदी भन्छन्, ‘विद्यालयमा विद्यार्थी थुपार्न मात्र हैन शिक्षाको गुणस्तरमा विद्यालयले विशेष ध्यान दिन आवश्यक रहेको छ ।’
बूनपा १२ वडाध्यक्ष भट्टराईले विद्यालयमा जनचेतनामूलक खालका कार्यक्रम हुनु गौरवको कुरा भएको बताउँदै ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्ने बताएका थिए ।
कार्यक्रमको सभापति संचालक समिति अध्यक्ष केशव प्रसाद दंगालले विद्यालय र प्रहरी बीच समन्वय गर्दा विद्यार्थी र विद्यालयमा मात्र नभएर सिङ्गो समाजमा सकारात्मक प्रभाव पर्ने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रधानध्यापक गणेश कुमार मिश्रले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले विद्यार्थीहरुको आफ्नो जीन्दगी बन्ने र अरुको पनि बनाउन सक्ने बताए। पढाईलाई विद्यालयमा मात्र नभएर व्यवहार र समाजमा पनि लागु गर्नुपर्ने उनको जोड थियो। सहायक प्रधानध्यापक मिश्रले समुदायको सकारात्मक परिवर्तनका लागि सधै तयार रहेको जानकारी गराउँदै भोलीका दिनमा विद्यालय समुदाय सँग हातमाहात र काधमा काध मिलाउँदै सामाजिक जागरणमा अघि बढ्ने बताए । उक्त कार्यक्रम विद्यालयका को–अर्डिनेटर राजिव खड्काले संचालन गरेका थिए ।
‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ शुरु गरिएको नेपाल प्रहरीको अभियान अहिले देशका विभिन्न विद्यालयहरुमा हुँदै आएको छ ।