प्रिय छोरीका नजिक बस्तै



१० जेठ २०७६, काठमाडौं

छोरीलाई काखमा बोक्ता कस्तो हुन्छ भनेर अनुभव नभएका मानिसलाई साहित्यकार ‘तारा केसी’ले ‘प्रिय छोरी’ हातमा राखिदिएर ‘‘ल सर, यस कृतिका बारेमा केही बोलिदिनू है’’ भन्नुभयो, मैले हुन्छ भनेँ । पुस्तकमा कुराहरु के छन् भन्ने थाहा नभए पनि ‘कविता सङ्ग्रह’ हो भन्ने थाहा भयो । वर्ण, मात्रा, ह्रस्व, दीर्घ आदिको परिधि छन्दोबद्ध कवितामा भन्दा धेरै सहज हुने हुनाले गद्य कवितामा मनको कुरो खुलेर राख्ने अवसर हुँदो रहेछ । यद्यपि कवितामा रस, अलङ्कार, ध्वनि, रीति, गुण, बिम्ब, प्रतीकहरु रहन्छन् नै । धेरै लामो समयदेखि तिनको अभ्यास नहुँदा त्यसतर्फको कुरो गरिएन ।

कवि तारा केसीले आफू सम्बद्ध संस्थाका कार्यक्रमहरुमा प्रायः नटुटाईकन हाम्रो कार्यक्रममा आउनुहोस् भनेर बोलाउनुहुन्छ । उहाँको आत्मीयता सम्मानयोग्य हुन्छ तापनि वचन राखिदिन कहिले सजिलो हुन्छ कहिले हुँदैन । यो कृति छापिएर अगाडि आउनुभन्दा पहिले नै तारा जीको कविता सङ्ग्रह आउँदै छ भन्ने पनि मलाई थाहा थिएन तापनि विमोचनमा आउनका लागि धेरैपटक बोलाउनुभएको हो तर उपस्थित हुने अनुकूलता मेरो बनेन । समय मिलेका बेलामा पुस्तक हातमा आयो । सुरुदेखि अन्तसम्म सबै पढेँ । धेरै समय एकै ठाउँमा बसिरहन मलाई गारो हुन्छ । त्यो मेरो आफ्नै स्वास्थ्यको कारण हो । एकै बैठानमा पढेर सकियो । त्यसरी सकिनुका दुई कारण रहे । पहिलो कुरो त पुस्तक सानै हो, जम्मा १११ पृष्ठको । लामाछोटा गरी ४२ वटा गद्य कविता यसमा छन् । दोस्रो कुरो कविताहरु पढ्दा पट्यार लाग्ने र अल्छी लाग्ने खालका पाइएन । मन तान्न सक्ने खुबी कवितामा रहेको छ ।

पढाइका क्रममा जति कुरा मनमा खेले ती सबै लेखौँ भने यो लेख टुङ्ग्याउन पनि सकिँदैन । पुस्तकमा पढ्दा पाउने रमाइलो यसरी लेखेका ठाउँमा पाउन पनि सकिँदैन । त्यसैले पाठकको स्वतन्त्रतालाई पनि सम्मान गर्नका लागि पनि सबै ठाउँका सबै कुरा उल्लेख गरिएन । रचनाकारको भनाइ, भूमिका र शुभकामनाहरु खुब मननयोग्य छन् । अग्रलेखहरुका विषयमा यति नै भन्दै एकैचोटि प्रिय छोरी शीर्षकको दोस्रो पङ्क्ति समूहलाई यहाँ उतार्दै छु-

तिमी महासागरको कुरा गर्छ्यौं
आइफल टावर फन्को मार्छु भन्छ्यौ
म यति बेला मेरै चोकसित बिरानो छु
मलाई त वागतमीको सफा पानीमा
आफ्नै प्रतिबिम्ब हेर्न पाए पुग्छ ।

यति पाँच हरफमा दुई पुस्ता, दुई देश, दुई सोचाइ जस्ता कति किसिमका कुराहरु उल्लेख भए भन्ने आफैँ विचार गरौँ ।

उसै गरी पृष्ठ २८ मा शीर्षक नै ‘बजेट भाषणमा नपरेको म’ भन्ने छ । आखिर यो ‘म’ को होला ? संसारमा जन्मिएका जोसुकैले प्रकृतिका दृष्टिले समान अधिकार पाएको भए पनि मानिसका भेदपूर्ण व्यवहारले किन दुःख पाउनुपर्ने ? भन्ने जस्तो प्रश्न उठाएको देख्न कविता स्वयं पढ्न अनुरोध गरिन्छ । पृष्ठ ३१ को मौनता कविता अति सानो छ । सानो काँडाले पनि पूरै जिउ अस्वस्थ गराउँछ र सानो पित्को औषधिले पनि सारा शरीरको रोग निको पार्छ । यस छ हरफका कविताको आफ्नै विशेषता रहेको पाइयो । अब कविता हजुरआमा शीर्षक हेरौँ । शीर्षकको चयन कविको आफ्नै रुचिमा छ तर त्यसको अन्तिममा लेखिएको-

छोराले दिएको पिण्ड पानी खाएर
उहाँ कति स्वस्थ हुनुहुन्छ
सोध्नुहोला हजुरआमा
अवश्य सोध्नुहोला ।

यति पढ्दा हामी र हाम्रो पुरानो तथा नयाँ सामाजिक सोचाइका विषयमा केही कुरा पक्कै पाइन्छन् । विश्लेषण गर्दै अर्थ लगाउन पाठक स्वतन्त्र हुनुहुन्छ । धेरै कुरा नलेखीकन थोरैमा बिट मारौँ भन्ने लाग्दा लाग्दै पनि पृष्ठ ६८ मा रहेको ‘मेरी गुडिया रानी’ शीर्षकलाई चिह्न नलगाई सकिएन । सबै कविता पढ्न त पुस्तक नै पल्टाउनुपर्ला तर पनि यसको बीचतिर रहेको-

एक अँगालो घामको न्यानो स्पर्श
थन्क्याएर सबै व्यस्तताहरु
दूर गाउँको कुनाबाट आज म
किन यसरी बल्झिरहेछु ।

अगाडि र पछाडिको प्रसङ्ग उठान नगरीकन यति सार्दा बुझ्न असजिलो त भयो होला तर पनि यसमा उद्धृत भाव धेरै नेपालीले भोगेको र झेलेको नै हो भन्न चाहिँ सकिन्छ । अब अन्ततिर जाऊँ । रचनाकार स्वयं र कृतिको नाम पनि नारीवादी नै हुनाले नारी भावको चर्चा नगर्दा सायद अन्याय होला । ‘हरिया सपनाहरु’ शीर्षकको कविताको अन्तिम अंशमा-

त्यसैले बाबा
बेच्नु पर्दैन आमाका कानका मुन्द्रा
राख्नु पर्दैन यो घर बन्धकीमा
मेरा सपनाहरु फर्की आउने
यो पवित्र मन्दिर
विज्ञापनको बजारमा सूचीकृत भएको
हेरेर म बाँच्न सक्दिनँ बाबा ।

भनेर समाप्ति गरिएको छ । अघिल्लो प्रसङ्ग यहाँ देखिएन तापनि यो कथन छोरीले बाबासँग बोलेको हो भन्ने बुझ्न गारो छैन । छोरीको उमेर के हो र बाबा कुन चिन्तामा रहेछन् भन्ने कुरो नबुझिने छैन । समग्रतामा हेर्दा हामी कस्तो जीवन बाँचिरहेछौँ वा हाम्रो समाज कति सुखी एवं कति पीडित रहेछ भन्ने कुराको छनक यसमा पाइएकै छ भन्न सकिन्छ । पृष्ठ ९३ देखि सुरु भएको ‘मखमली’ शीर्षकको कविता पढौँ । त्यसले अलग प्रकारले मनलाई झङ्कृत गर्छ । अन्तिम कविता पृष्ठ ११० मा ‘म बीस वर्षकी भएँ’ शीर्षकमा यस्तो छ-

त्यही बाटोमा भेटिन्छन्
निर्मला पन्तका अभागी आमाहरु
त्यही बाटोमा निदाएको हुन्छ न्यायालय
त्यतैतिर भेटिन्छन्
असुरक्षित साँझसम्म ।

कविताको यो खण्ड पढेर अरु अलिकति अघि सरेपछि पुस्तक बन्द हुन्छ तर पाठकको मनको ढोका भने पूरै उघ्रिन्छ । समग्रमा तारा केसीले थमाएकी ‘प्रिय छोरी’ हातमा लिएपछि भुईंमा राख्न मनले मानेन । अब अरु अझै छोरीहरुको लर्को लागोस् । तिनीहरु अझैँ सिँगारिऊन् । अहिले यति भन्दै सुन्नेलाई सुनको माला भन्नेलाई फूलको मालाका साथ बिदा माग्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्