नाछिरिङ राईहरुको भाषिक पाठ्यपुस्तक ‘रुखुम’ लोकार्पण



१२ जेष्ठ २०७६, काठमाडौं

नाछिरिङ भाषाको पाठ्यपुस्तक ‘रुखुम’ लोकार्पण भएको छ ।

‘किराँत रदु नाछिरिङ साखाम केन्द्र’को आयोजनामा पाठ्यपुस्तक आज लोकार्पण भएको हो ।

काठमाडौं चाबहिलस्थित ए वान क्याफेमा भएको कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय गानका रचनाकार तथा साहित्यकार व्याकुल माइला (प्रदीप कुमार राई), भाषा आयोगको सदस्य उप पाध्यापक डा.तारामणि राई तथा अन्य उपस्थित संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

डा. तारामणि राईको प्राज्ञिक परामर्शमा विगत पाँच महिनादेखि लगातार खोजअनुसंधान गरेको  २६ ओटा स्वर वर्ण र १३ ओटा व्यञ्जन वर्णको समायोजनबाट सो पुस्तक तयार भएको आयोजकले बताएको छ ।

साथै केन्द्रले यसै शैक्षिक सत्रबाट नै पठनपाठन सुरु गर्ने जनाएको छ । विशेषगरी नाछिरिङ राईहरुको बसोबास रहेको सोलखुम्बु, खोटाङ, पाँचथर, तेह्रथुम तथा मोरङ लगायतको अन्य जिल्लाहरुमा पठनपाठन सुरु हुने केन्द्रले दावी गरेको छ ।

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा ५ ले गरेको मातृभाषा लिन पाउने अधिकारलाई आत्मसाथ गर्दै यसको औपचारिक सुरुवात समेत भएको संस्थाका पदाधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्