युरोपेली चुनाव २०१९ः शक्तिशाली दलहरूलाई धक्का



१३ जेठ २०७६, काठमाडौं

युरोपेली संसद्को चुनावका प्रारम्भिक नतिजाहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखाएका छन् ।

मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा देखिएको छ र ईयू समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ ।

लिबरल र ग्रीन पार्टीहरूका लागि एउटा सुखद रात रह्यो भने इटली र फ्रान्समा राष्ट्रवादीहरू जित्ते देखिएको छ । चुनावमा २५ वर्षयताकै सबैभन्दा बढी मत खसेको बताइएको छ ।

विभाजित
नयाँ संसद् झन् विभाजित हुनेछ, जसका कारण युरोपली सङ्घ ईयुका कानुनहरू बनाउन अझ गाह्रो हुन सक्छ ।

चुनावी नतिजाले युरोपेली आयोग र युरोपेली परिषद्को नेतृत्व कसले गर्नेछ भन्ने कुराको निक्र्योल पनि गर्नेछ । फ्रान्स र इटलीमा चरम दक्षिणपन्थी दलहरू अगाडि रहेको प्रारम्भिक सङ्केत देखिएका छन् ।

ब्रिटेनमा ब्रेक्जिट पार्टीले ठूलो अग्रता कायम गरेको छ भने सत्तारुढ कन्जरभेटिभ पार्टी पाँचौँ स्थानमा खुम्चिएको छ ।

त्यसैगरी जर्मनीमा दुवै मध्यपन्थी दलहरूलाई धक्का लागेको छ । चान्सलर एंगेला मर्केलको क्रिश्चन डेमोक्र्याट्सले सन् २०१४ को तुलनामा सात प्रतिशत कम मत पाएको छ ।

सन् २०१४ मा ३५ प्रतिशत मत पाएको उक्त दलले अहिले २८ प्रतिशत पाएको छ । त्यस्तै मध्यवामपन्थी दल सोसल डेमोक्र्याटिक युनियनले त्यसबेला २७ प्रतिशत मत ल्याएकोमा अहिले १५.५ प्रतिशत मत पाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्