दोश्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०१९ को च्याम्पियन नेपाल



१३ जेठ काठमाडौं, २०७६

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद “भन्ने नाराको साथ तोयाकान नेपाल बादो–रियो कराते डो संघ केन्द्रीय समितिको आयोजना भएको जेठ १० र ११ गते दोश्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०१९ सम्पन्न भएको छ ।

जेठ १० गते शुक्रबार नेपाल सरकारका पूर्व गृह मन्त्रि बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रमको शनिबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन समारोहमा विशेष अतिथिको रुपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे, महानगरीय प्रहरी प्रभाग बौद्धका डिएसपी नरेन्द्र चन्द, वडाध्यक्षहरु, खेलप्रेमी लगायतको बाक्लो उपस्थिती रहको थियो ।

दुई दिने प्रतियोगितामा काता र कुमिते गरि ३० विधामा ३० स्वर्ण, ३० रजत र ६० कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । भारत, श्रीलंका, बंगलादेश, नेपाली लगायतका खेलाडीहरुले सहभागिता जनाएको दोश्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०१९ को च्याम्पियन नेपाल भएको छ । दितीय स्थान भारतले हात पार्न सफल भयो भने त्यसै गरि तृतीय स्थान श्रीलंका हुन सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी तर्फ नेपालका पुष्प राज नेगी हुन् सफल भए भने महिला तर्फ नेपालकै एलिशा तामाङ हुन सफल भइन्, त्यसै गरि उदयमान खेलाडीको उपाधि नेपाली शिखा बजगाँईं हुन सफल भइन् ।

कार्यक्रममा विजेता, उपविजेता, सहित उत्कृष्ट हुने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

दुई दिने प्रतियोगितालाई गोकर्णेश्वर नगरपालिका र चौधरी ग्रुपले प्रायोजन गरेको थियो ।

दुई दिने सो प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित गोकर्णेश्वर ब्याङ्केटमा संचालन भएको थियो । प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि ४०० भन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्