पार्टी एकता नटुङ्गिदै सिन्धुलीमा विवाद : सचिवको ह्विपपछि बैठक बहिष्कार



२१ जेठ २०७६, काठमाडौं

पार्टी एकताको लामो समयपछि गठन भएको जिल्ला कमिटीमा आफ्नो गाउँपालिकाबाट कोहि नसमेटिएको भन्दै सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका सचिव दिनेश लो ले बैठक बहिष्कार गर्ने ह्विप जारी गरेपछि पूर्व एमालेका सदस्यहरु सबैले बैठक बहिष्कार गरेको श्रोतले बताएको छ ।

पार्टी कार्यालय कोल्टारमा हुने भनिएको नेकपा घ्याङलेख गाउँपालिका बैठकमा पूर्व एमालेबाट कोहि पनि सहभागी भएनन् । पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक लेखनाथ दाहाल (राजन) र  जिल्ला सचिव  प्रदिप कटुवाल उपस्थित बैठकमा करिब आधा गाउँपालिका सदस्यले बैठक बहिष्कार गरेपछि पार्टी एकता अन्योलमा परेको बुझिएको छ । बैठक बहिष्कार गर्नेमा सचिव दिनेश लो लगायत सबै पुर्व एमालेका सदस्यहरु र तत्कालिन जनयुद्धकालिन अवस्थामा पूर्वको लाल किल्ला भनेर चिनिने अमलेका पूर्व  माओवादी सदस्यहरु पनि रहेका छन् । १४५ जनाको जिल्ला कमिटीमा कोहि सदस्य नपरेपछी उक्त क्षेत्रका गाउँपालिका सदस्यहरु समेत आक्रोशित हुँदै बैठक बहिष्कार गरेका हुन् । गणतन्त्र प्राप्तिका लागि अतुलनीय भूमिका निर्वाह गरेको उक्त क्षेत्रले १० बर्षे सशस्त्र जनयुद्धमा १३ जनाको बलिदान दिएका थिए ।

विकास निर्माणमा समेत पछि परेको घ्याङलेख जिल्ला नेतृत्वमा नसमेटिएपछि निर्वाचित जनप्रतिनिधिहरु समेत आक्रोशित बनेको श्रोतले बताएको छ । गलत नेतृत्वकै कारण हामीले गत स्थानीय निर्वाचनमा हार बेहोर्नु पर्याे, अहिले समेत हाम्रो बलिदानी र भूमिकालाई कमजोर बनाउन जिल्ला नेतृत्व लागिपरेको छ ।

हाम्रो माग पुरा नभएसम्म हामी जिल्ला नेतृत्वको निर्देशन मान्न बाध्य हुनेछैनौं । यदि जिल्ला नेतृत्वले समयमानै हाम्रो माग पुरा गरेन भने हामी बैठक मात्र होईन, जिल्ला नेतृत्व नै बहिष्कार गर्ने अवस्थामा पुग्ने छौँ, यस्तो पाराले कम्युनिष्ट पार्टी चल्दैन एक पार्टी सदस्यले परिवर्तन खबरसँग आक्रोश पोखे ।

नेतृत्वले जिल्ला कमिटीमा थपघट गरी घ्याङलेखको प्रतिनिधित्व नगराएसम्म पार्टीको बैठक  निरन्तर बहिष्कार गर्ने उनीहरुको रणनीति रहेको छ । पूर्व माओवादी सदस्यहरुको थप आक्रोश छ, सिङ्गो सत्ता परिवर्तनमा अमले बलिदानी दिनुपर्ने तर जिल्ला समन्वय समिति गठन गर्दा चाहिँ अमलेलाई किन समेटिएन ? पूर्व माओवादी कार्यकर्ताको समेत चर्को आक्रोश देखिन्छ ।

सचिव लो भन्छन, ‘जनवादी केन्द्रीयताको रटान गर्दै जिल्ला नेतृत्वले गरेका जस्तोसुकै निर्णय समेत मान्नुपर्छ भने त्यो भ्रम हो । हामी हाम्रो भूमिका र बलिदानीको सम्मानको लागि जस्तोसुकै पार्टी अन्तर संघर्ष गर्न तयार छौँ, जिल्ला नेतृत्वले समयमा नै बुझोस् ।’

परिवर्तन खबरसँगको कुराकानीमा प्रदेश सांसद तथा जिल्ला सचिव प्रदिप कटुवालले भने, ‘नियतबस नसमेटिएको भन्दा पनि विधि र प्रक्रियाको आधारमा  घ्याङलेख छुट्न गएको हो । आगामी अधिवेशनहरुमा समेट्ने प्रयास गरिन्छ तर पार्टी बैठक बहिष्कार गरी घुक्र्याउनु पार्टी नीति विपरीत भएको र यस्तो कार्यले स्थानीय पार्टी कमिटी र जिल्ला नेतृत्वलाई गलत असर पर्ने भएकोले सच्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्