आयुष्मानकी आमा रविनाले बताइन् आयुष्मान र प्रियंकाको विवाह रोकिनुको कारण



३१ जेठ २०७६, काठमाडौँ

प्रियंका र आयुष्मान देशराज जोशीको चलचित्र प्रेम दिवस आजबाट प्रदर्शनमा आएको छ । यस्तै हिजो चलचित्रको ग्राण्ड प्रिमियर भएको थियो । प्रिमियरमा प्रेम दिवस लाई सबैले निकै राम्रो बताएका छन् ।

यस्तै प्रेम दिवस हेर्न आयुष्मान र प्रियंकाका परिवार पनि पुगेका थिए । प्रियंका र आयुष्मानको आउँदो असारमा विवाह हुने कुरा थियो । तर केही कारणबस उनीहरुको विवाह केही समयको लागि स्थगित भएको छ । आयुष्मानकी आमा रविनाले प्रेम दिवस को प्रिमियरको समयमा यस विषयबारे केही बोलेकी छिन् ।

रविनाले आयुष्मान र प्रियंका एकअर्कासँग निकै खुसी भएको बताइन् । उनले आफूले प्रियंकालाई बुहारी नभएर छोरीको नजरले हेरेको र विवाहपछि पनि छोरीको नजरले नै हेर्ने बताइन् । उनले एकसाथ बस्नको लागि विवाह हुनैपर्छ भन्ने जरुरी नभएको बताइन् । उनले अहिले पनि आयुष्मान र प्रियंका एकअर्काको घरमा आउने जाने चलिरहेको हुँदा विवाहको नै जरुरत नभएको स्पष्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्