०७ असार २०७६, काठमाडौं
काठमाडौँ उपत्यका वरिपरिका नगरपालिकाले एकीकृत विकासका लागि ठूला योजना सञ्चालन गर्न थालेका छन् । ससाना र टुक्रे योजनाले नगरपालिकाको एकीकृत विकास सम्भव नहुने देखिएपछि उनीहरूले बढी बजेटका योजना सञ्चालन गर्न थालेका हुन् ।
ठूला आयोजना न्यूनतम ५० लाखदेखि अधिकतम पाँच करोड रुपियाँसम्मका छन् । २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पहिलो वर्ष भने पुरानै शैलीमा योजना निर्माण गरेका यी नगरपालिकाले दोस्रो आर्थिक वर्षदेखि भने ठूला योजना सञ्चालन गर्न थालेका हुन् ।
नगरपालिकाको आन्तरिक स्रोत, सङ्घ र प्रदेश सरकारसमेतको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन थालेका छन् । अबको चार वर्षभित्र सञ्चालित सबै योजना सम्पन्न हुने र नगरपालिकाको समग्र विकासमा सहयोग पुग्ने दाबी गरिएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ भन्नुहुन्छ, “ठूला आयोजनाले समग्र विकासमा सहयोग पु¥याउँछ । ”
काठमाडौँका १० वटा, भक्तपुर र ललितपुरका दुई÷दुईवटा गरी १४ वटा नगरपालिका उपत्यकामा छन् । सहरोन्मुख ती क्षेत्र अधिकांश नयाँ नगरपालिका पनि हुन् । ती नगरपालिकाले गुरुयोजना र पाँचवर्षे रणनीतिक योजना शीर्षकमा ठूला आयोजना सञ्चालन गरेका हुन् ।
योजनाहरू मुख्यतः पर्यटन, सांस्कृतिक सम्पदाको विकास तथा पूर्वाधार निर्माण, खानेपानी, हरेक बस्तीमा पहिलो चरणमा ग्राभेल सडक र दोस्रो चरणमा सडक पिच गर्ने गरी योजना सञ्चालनमा केन्द्रित छन् । त्यस्तै नगरपालिका क्षेत्रको सार्वजनिक जग्गा संरक्षण, स्थानीय तहमा भएका स्रोतसाधनको सदुपयोग, स्वच्छ सफा हराभरा नगर निर्माणलगायतका योजना सञ्चालन गरिएको उनीहरूले जानकारी दिएका छन् । अधिकांश नगरपालिकाले बहुवर्षे क्रमागत योजना शीर्षकमा ठूला योजना सञ्चालन गरेका छन् । गाेरखापत्रमा खबर छ ।