०७ असार २०७६, काठमाडौँ
एउटा चलचित्र राम्रो चल्नको लागि त्यसको कथावस्तु, गीतसंगीत र नायक नायिका उत्कृष्ट हुनुपर्छ । तर हाम्रो सोच के छ भने स्टारडम धेरै कमाएका नायक नायिकाको चलचित्र हलमा यसैपनि चल्छ । केही हदसम्म यो साचो पनि निस्किएको छ ।
उदाहरणका लागि अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीलाई नै लिन सकिन्छ । अनमोलले अहिलेसम्म ७ वटा चलचित्रमा काम गरिसकेका छन् । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । उनले आफ्नो अभिनयबाट खासै वाहवाही पाउन सकेका छ्रैनन् । तर उनको स्टारडमको कारणले नै अहिलेसम्म उनका कुनैपनि चलचित्र हलमा फ्लप पनि छैनन् ।
सबै नाम चलेका कलाकारको नामले मात्र चलचित्र चल्छ भन्ने हुदैन । हाम्रो चलचित्र क्षेत्रमा यस्ता केही नायिकाहरु छन् जसलाई सामाजिक सञ्जालमा निकै धेरै दर्शकले पछ्याउने गर्छन् । उनीहरुको हरेक कुराहरुको जानकारी राखिरहेका हुन्छन् । फेसबुक र इन्ष्टामा पाएको फ्यान फलोइङ आफ्ना चलचित्र रिलिज हुँदा हलमा पनि देखिन्छ कि भन्ने यी नायिकालाई लागेको हुन्छ । तर विडम्बना हलमा दर्शकले ती नायिकालाई पत्याउदैनन् ।
रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी नेपालका निकै नाम चलेका नायिकाहरु हुन् । उनीहरुले आफ्नो कामबाट निकै प्रशंसा पनि पाउने गरेका छन् । सामाजिक सञ्जालमा पनि दर्शकले निकै पछ्याउछन् । तर पछिल्लो समयमा यी तिनै नायिका फ्लप नायिकाको रुपमा साबित भैसकेका छन् ।
फेसबुक, इन्ष्टामा जति नै फलो गरेपनि दर्शकले यी नायिकालाई हलमा पत्याउन छाडेका छन् । आखिर यत्तिको बलियो स्टारडम हुँदा पनि यी नायिकाहरुको फिल्म किन हुन्छ त फ्लप ? यो पक्कै पनि चासोको विषय हो । के यी नायिकाहरु चलचित्र छनौटमा चुकेका हुन् त ? या भनौँ स्टारडमले मात्र चलचित्र चल्दैन ।