‘गलबन्दी’ले ततायो सडकदेखि सदनसम्म



०९ अषाढ २०७६, काठमाडौं

नेपाली सांगीतिक आकाशमा धेरै विधामा गीत–संगीतहरु भित्रिने क्रम जारी छ ।

त्यसरी भित्रिएका गीत–संगीतहरुले कत्तिले समाजमा राम्रै छवी बनाउँछन् त कत्ति विवादमा पनि तानिन्छन् ।

यस्तै पछिल्लो सयम नेपाली सांगीतिक आकाशमा एउटा तरंग पैदा भएको छ ।

गायक प्रकाश सपूतले गाएका ‘गलबन्दी च्यातियो तिमीले तानेर’ गीतले एकपटक सकारात्मकताबाट चर्चामा आयो । त्यसपछिको केही दिन यो गीत विवादित बन्यो । वरिष्ठ गायक–संगीतकार शम्भू राईले ०४८ सालमा गाएका ‘आउ नाँचौं साथी हो’सँग मिलेको भनेर गायक सपूतको धज्जी उडाउने तथा आलोचना गर्नेहरुको लर्को लाग्न थाल्यो ।

गीत ‘गलबन्दी’ सुन्दा भने एकदमै आनन्द आउने खालको छ । गीतमात्र सुन्दा भन्दा भिडियो हेर्दा झनै मज्जा आउने श्रोता–दर्शकहरुले बताएका छन् । श्रोता–दर्शकहरुले धेरै रुचाएका त्यो गीतको चर्चा सडकदेखि सदनसम्म चलेको छ ।

त्यसबीचमा पनि कत्तिले प्रकाशको गल्ती भने त कत्तिले शम्भू राईकै गल्ती भएको औंल्याए ।

गायक द्वयबीच यत्तिबेला एक किसिमको रस्साकस्सी परेको छ । गायक शम्भू राईको क्रिएसनमा आफ्नो नाम हुनुपर्ने माग छ भने, अर्का गायक सपूत भने त्यो मान्नेवालमा छैनन् । उनले बारम्बार भनेका छन्, ‘मैले यो गीत गाउँदासम्म मलाई उहाँको ‘आउ नाँचौं साथी हो’ गीत सनेकै थिईनँ ।’

प्रकास सपूतले वरिष्ठ गायक–संगीतकार शम्भू राईको गीत चोर्यो भनेपछि गायक द्वयको बीचमा धेरै कुराकानी पनि भएको दुवै गायक स्वीकार गर्छन् । त्यसबीचमा गायक प्रकाश सपूतले गायक शम्भू राईलाई चिठी पनि पठाएका थिए ।

गायक सपूतले सो पत्रमा कुनै किसिमको नकारात्मक अँगालेका छैनन् । उनले चिठीमा भनेका छन्, ‘मैले तपाईँको धेरै नै गीतहरु सुन्ने गरेपनि ‘आउ नाँचौं साथी हो’ भने सुनेको थिईनँ । मैले कुन कसम खाएर भनौं हजुरको त्यो गीत सुनेको थिँन भनेर?’

चिठीः

आदरणीय शम्भु राई सर,नमस्कार ।
आराम छु, आराम चाहन्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जाँदै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठ्ठी लेख्दैछु । तपाईलाई विश्वास नलाग्ला गीत पनि सुन्दैछु – चिठ्ठी तिमीलाई लेखुँ भन्छु , बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यहि लेख्दैछु सर । करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उषा ब्राण्डको फ्यान घुमिरहेको छ ।

अलिअलि शितल गराएको पनि छ तर, फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु । यद्दपि हुन्छु कि नाई । थाहा छैन । भर्खरै एउटा सांगितिक प्रस्तुती दिएर फर्केको । यहि नजिकै महोत्सब लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिएँ । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुन प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज ।

मैले सोचेकै थिएन सर लोक गीत गाएर यतिबिधि चर्चित भइन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन । त्यसैले गति नै त छाडिएन तर अनेक तिक्डम चै लगाएकै हो । एकबारको जूनीमा गाउने इलम गरिसकेपछि २–४ जनाले चिनेनन् भने के गाउनु ठानें भन्ने आत्मबोध भइरहन्थ्यो । त्यसैले गीतै गाएर पेट र परिवार पालेको भए पनि म कहिल्यै खुशी भइन् । सपना ज्यूँको त्यूँ छ । भोक ज्यूँको त्यूँ छ भनेर निकै निरासामा गुज्रिरहेको थिए ।

कसो कसो दोहोरी व्याटलले अलिअलि भोंक मेटायो । त्यहि चिनिने भोक क्या सर । पछि बोल माया गर्दा मैले चिनिने भन्दा सम्झिनेतिर अल्ली बढि ढल्केर काम गरें र आफूलाई अलिधेरै अंक बटुले दर्शक श्रोताबाट । ब्याटल टुले मेरो परिचयमा थोरै प्रश्न उठायो । त को होस रु कÞताको मुन्छे होस रु भनेर अलिअलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो ।

कहिलेकाही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, बिज्ञानमा होइन नेपाली बिषयमा । हो संगीत पनि नेपाली बिषय जस्तै लाग्छ सर । गणितको, बिज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने । १०० मा ३२ ।

गल्बन्दीसम्म आउँदा मेरो अंक सयमा सयमा आएको थियो सर । कपि जाच्ने शिक्षक जस्तै गीत जाँच्ने दर्शक श्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिजल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छ र रु तर स्कुल नै टपिसके पछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले गल्बन्दीलाई तपाईले पनि जाँच्नु भयो सर । तपाईलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर, उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरै बाट प्रभावित छ कि के हो रु

सर्वप्रथम त तपाईले गल्बन्दी सुनिसकेपछि तपाईको मनमा भाका मिले जस्तो लागेर भएको छटपटि र हल्ला भयसकेपछि आएका नकारात्मक टिका टिप्पणीहरुबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुःख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतमाथि आएका प्रश्नहरुप्रति म लज्जाबोध गर्दछु ।

यद्दपि तपाईले कुरा उप्काईसकेपछि मेरो नियतमाथि, मेरो व्यक्तित्वमाथि, मेरो सिर्जनामाथि लागेका आरोपहरुले मेरो आत्मसम्मानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यतातिर सोचेर हजुर दुःखी नहुनु होला है । म ठिक ठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादूमयी अवसर छ – भाइरल । छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खाँदै लखेटिने प्रवृति । जुन भोक थियो नि सर चिनिनेर चर्चित हुने । भयो, अघाइयो । भुँडी फुट्ने गरी अघाइयो ।

अं साँच्ची भाका मिलेको प्रसङ्ग । गाउँमै हुँदा सुनेको भनेर तपाईलाई मख्ख पार्दिन सर । काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थालेपछि हजुरका धेरै गीतहरु सहकर्मीहरुको आवाजमा सुनियो । आफूलाई रहर लागेर खोजी खोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो ।

चिठ्ठी तिम्लाई र तिमीले सम्झेनी लाखै छ भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा सहकर्मीले गाउँथे म अभिनय जस्तो गर्थे । हल्का रक्सीले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि रु पैसा पनि राम्रै झथ्र्यो । म चाँहि रहरले चलेछ बतास सुस्तरी गाउने प्रयास गर्थे । त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर कुन कसम खाएर भनौ सर यो देउसी भैलो गीत मैले सुनेको थिएन ।

त्यसैले मैले कपि गरेको हुँदै होइन । पहिले नै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउँछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर । बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सहि गलत त्यता नजाउ मैले यहाँ जोड्न खोजेको चाहि पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि रेकर्ड गरेर चलाई दिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो रिस्क तपाईले त्यति खेरै लिनु भयो । अब मैले किन लिन्थेर ,अहिले त झन खर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने विजनेस वे छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर । अहिलेको अवसर र चुनौती भनेको मैल माथि जोडिसके त्यहि ‘भाइरल ‘ हो । त्यो पनि फिरिको ।

सर भाका मिलेकै छैन रु का मिलेको छ रु भनेर तपाईको बिचारलाई तपाईको फिलिङसलाई तपाईको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्नँ । तपाईले आफैले भन्नु भएको थियो म तपाईको छोरा भन्दा पनि धेरै कान्छु उमेरको छु । तपाई मेरो बुबा भन्दा पनि बढि उमेरको हुनुहुन्छ । यसकारण तपाईको भोगाई, तपाईको अध्ययन अनुभव, तपाईको योगदान तपाईको सफलताको अगाडि म धेरै बच्चा छु । उमेर अनुभव र समयले पनि म केटकेटी नै हो ।

एउटा श्रोता भएर सुन्दा गलबन्दी र आउ नाचौ १–२ ठाउ उस्तै उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओई सुन्त मिलेको छ यार भनेर यी दुई गीत (अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकैचोटी सुनाउने हो भने जोकोहीको मनमा पनि आउँछ होला – य हो त यार मिलेकै रैछ । तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाँहि छैन कि सर । कपि हुनलाई त पुरै र्‍याङ कि ठ्याङ मिल्नु पर्ने हैन र । सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिदैन । हेर्नुस् त दर्शकहरु बाँडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडियामा नखेलौ सर ।

मैले यहाँनिर धेरै लोक भाका मिल्छन् । उस्तै उस्तै हुन्छन् । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने भने पनि तपाईलाई तर्कले जित्न खोजे जस्तो होला । यद्दपि अन्य संगीतहरु अलिकति गणितीय सूत्रमा बाँध्न सकिन्छ । लोकभाकाहरु अलिबढि स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावा पानी बनजङ्गल जस्तै प्राकृतिक ।

मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर । उसै पनि जति गीत चलेका छन् ती सबै शब्द र संगीतले मात्रै होइन भिडियोमा अनेक तिग्डम गरेको छु सर । यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिकबाट उठेर गीत भनेर म्युजिकमै सकिदा पनि पूर्ण गीत हुन्थ्यो चिठ्ठी तिम्लाई’ ताका । अहिले चिठ्ठीको चलन हराएर भिडियो च्याटको जमाना भएर हो कि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडी त गीत नै पूर्ण नहुने जस्तो पो भैसक्यो । खैर, म फेरि जोड्न चाहन्छु मैले ठ्याक्कै गीत सुनेर कपि गरेको हुँदै होइन सर । डिट्टो कपि पनि छैन गीतमा ।

मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाई भन्दा अझै अग्रज, तपाई र मसम्म आउँदा नेपाली संगीत र विशेषतः लोक गीत सिर्जना गर्ने ती तमामा अग्रजहरुबाट प्रभावित हुँदै नै हामीले गीत सिर्जना गर्ने हो । तपाईहरुले बडो दुःख गरी खनेको बाटोमा हामी सजिलरी हिंड्न पाएका छौ । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारीबोध पनि गरेका छौ । तपाईहरुकै बाटोमा हिंड्दै गर्दा तपाईहरु जस्तै जस्तै देखिनु स्वभाविक हैन र सर रु अहिले समय अलि बदलिएको छ सर । गीत संगीतमा भीड़भाड़ छ । किनकी बाटो सजिलो भएको छ । जोकोही जा कहिबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुची फेरि डेन्जर डेन्जर छ सर ।

यस्तो अवस्थामा गल्बन्दी जस्तो मौलिक लोक गीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर । आफ्नो व्यवसायिक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै बिधि पुर्‍याएर ३२–३५ मिनेटको तिहार गीत बनाउन तपाईलाई जरुरी थियो र सर रु तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटीबाट झ्याम्म दाम बुझ्न सक्नु हुन्थेन र रु

म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईको तर तपाईलाई कलाकारिता गर्दा केबल नाफा घाटा मात्रै भन्दा पनि नेपाली लोक संगीतको १ नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर । त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसङ्ग लिएर निरुत्साहित नगरिस्यो न । हजारौ प्रकाश सपुत आए पनि तपाईको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरी चिठ्ठी तिम्लाई दुरुस्त निकालेछ भनेपछि तपाई मेटिनु हुन्न सर । तपाईको अस्तित्व आउँछ आउँछ ।

लेख्दा लेख्दै मोबाईलको व्याट्रि २ प्रेसेन्ट भएछ । समय बिहानको ४ः३४ १ र अन्त्यमा, तपाईले बोलाएका फोरमहरुमा म उपस्थित हुन तयार छु सर, छलफलका लागि बहसका लागि, संगीतको शुद्धिकरणका लागि, कपराईटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशिल हुन सक्ने र सोहि अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाईस्यो न सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केहि फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । गल्बन्दीको लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँसम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाहरुबाट प्रभावित छ सर । यता पश्चिमतिरको भजनको ताल र रत्यौलीको लय मिश्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ ।
अब कसकसको नाम राखौ सर । नाम में क्या चिज हे रु अब यसै पनि आजको मितिसम्म सबै भन्दा छोटो समयमा करोड़ क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गल्बन्दी । तर उत्तर यतिमै सकिदैन । ‘ए त्यो शम्भु राईसँग मिलेको गीत’ भनेर आउने भइसक्यो । विश्वास बिचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसहरुमा । अब तपाईले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याए पनि गीत उस्तै उस्तै सुन्नेको कान फेर्न सक्दिन ।

त्यसैले एउटा सिर्जनामाथि दर्शक श्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसङ्ग यहि स्वतन्त्र छोड़ौ न सर । म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाई मलाई प्रोत्साहन गर्नु हुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर म र म जस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गीत संगीतमा केहि गरौ भन्ने हुटहुटिले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौ । धन्यबाद सर । टेक केयेर सि यु सर

गायक सपूतलाई वरिष्ठ गायक–संगीतकार शम्भू राईको गीतको चोरीमा मात्रै लागेन । उनलाई स्वर–सम्राट नारायणन गोपालको पनि गीत चोरीको आरोप लाग्यो ।

यसले झनै गायक सपूतको विरुद्धको मान्छेहरुलाई प्लस पाइन्ट भएको छ ।

यसो गीतलाई सुनिरहँदा मिलेको जस्तो पनि लाग्छ । तर, कपि नै गरेका हुन् वा हैनन् त्यो भने गायक सपूत नै जान्दछन् ।

‘गलबन्दी’को विवाद यहाँसम्म आईपुग्दा विशेषगरि सामाजिक संजाल प्रयोगकर्ता श्रोता दर्शकहरुले पनि धेरै प्रतिक्रिया जनाउन थालेका छन् । उनीहरु कत्तिले गायक सपूतको आलोचना तथा गायक–संगीतकार राईको अनुयायीका रुपमा कुरा गरेका छन् त, कत्तिले गायक–संगीतकार राईको आलोचना र गायक सपूतको अनुयायी बनेर कुरा गरेका छन् ।

ती प्रतिक्रियाहरुले गायक दव्यामा कस्तो खालको कुरा भयो भन्ने विषयमा गायक द्वयले नै जान्दछन् । तर सोमबार मात्रै ‘गलबन्दी’ को कुरा
संसदमा समेत पुगेको छ ।

आईतबार गायक–संगीतकार शम्भू राईले गलबन्दी गायक प्रकाश सपूतविरुद्ध प्रतिलिपि रजिष्टार कार्यालयमा मुद्धा दायर गरेका छन् । प्रतिलिपि रजिष्टार कार्यालयले गायक द्वयलाई तीनदिनमा मिल्न आग्रह गरेको छ ।

गायक सपूतको ‘गलबन्दी’ गीत आफ्नो ‘आउ नाँचौं साथी हो’सँग हुबहु मिलेको भन्दै गायक राईले कपिराईटको मुद्धा हालेपछि उनीहरुलाई आपसी समझदारीमा तीनभित्र मिल्न आग्रह गरेको छ ।

“आफ्नो गीतसँग हुबहु मिलेको भन्दै शम्भू राईले मुद्धा दिएपछि मैले छलफलका लागि बोलाएको थिएँ ।” रजिष्टार कार्यालयका रजिष्टार प्रकाश आचार्यले भनेका छन् ।
‘मैले उहाँहरुलाई बुधबारसम्मको समय दिएको छु ।’उनले थपे ।

गायक द्वयबीच आईतबार पनि छलफल भएको थियो । जहाँ उनीहरुबीच कुनै पनि कुरा मिल्न सकेन । छलफलमा वरिष्ठ गायक–संगीतकार शम्भू राईले गीतको क्रिएसनमा आफ्नो नाम हुनेपर्ने पुरानै अडान दोहोर्याएका थिए भने, गायक प्रकाश सपूतले भने यसलाई अस्वीकार गरेको थिए ।

त्यसपछि रजिष्टार आचार्यले तीनसम्मको समय दिएका थिए । तीनदिनसम्ममा पनि केही मिलमतोको कुरा नभए थप कानूनी बाटोमा लाग्न रजिष्टार आचार्यले सुझाएका थिए ।

“क्रिएसन गर्ने व्यक्ति कानूनी प्रक्रियामा जाँदा लामो श्रृखंला छ, त्यसैले तपाईहरु यो तीन दिनभित्रै मिल्नुस् उहाँले भन्नुभयो ।” गायक राईले भने ।

राजिष्टार आचार्यका अनुसार तीन दिनसम्म पनि सहमति नभए प्रहरीकहाँ जान्छ । प्रहरीको अधिकृतभन्दा माथिको अधिकारीको अनुसंन्धानबाट प्राप्त प्रतिवेदनका आधारमा अदालतमा पुगेपछि अदालतले अन्तिम निर्णय गर्नेछ ।

संगीतको विश्वव्यापी मान्यताअनुसार कुनै पनि गीतमा एउटामात्रै नोट नमिलेको अवस्थामा पनि कपिराईट लाग्दैन ।

अन्ततः यो गीत सदनसम्म पनि पुगेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद मीन बहादुर विश्वकर्माले सपूतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै गायक–संगीतकार शम्भू राईले मुद्दा हालेको विषयमा आपत्ति जनाए ।

‘एक दिन एक पटक एउटा कलाकारले कुनै समयमा गाउने र रेकर्ड गरेको गीत लोकभाका हुन सक्दैन । गाउँघरमा, रोधीघरमा, मेलापातमा तथा गोठालामा स्वस्फुर्त गाईने भाका नै लोकभाका हो । यो न नक्कल हुन्छ, न चोरी गरिन्छ ।’ सांसद विश्वकर्माले भने ।

‘तथापी, गायक सपूतले गाएका गीत कुनै कसैको गीतसँग मिल्दैन । झनै गायक–संगीतकार शम्भू राईसँग त मिल्दै मिल्दैन ।’ उनले थपे । अरुको गीत आफ्नोसँग मिलेको भनी मुद्धा दर्ता गराउनु लज्जास्पत रहेको पनि सांसद विश्वकर्माले बताए ।

‘राई र उनको मतियारले गायक सपूतलाई गालीगलौज गर्ने तथा उनीमाथि जातीय भेदभावका गर्ने काम भईरहेको छ ।’ सांसद विश्वकर्माले भने ।

त्यस्ता व्यक्तिलाई साइबर कानूनबमोजिम जातीय छुवाछुत तथा भेदभाव कसुर ऐनअन्तर्गत कानूनी दायरामा ल्याउनेसमेत उनले बताए ।

कानूनी दायरामा नल्याए सिङ्गो दलित समुदाय आन्दोलित हुने पनि उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्