१२ असार २०७६, काठमाडौं
एएफसी कप अन्तर्गत सातदोवाटो स्थित एन्फा कम्प्लेस मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३–२ ले पराजित भएको छ ।
गोल रहित बराबरीमा पहिलो हाफ सकिएपछि दुवै टोली दोस्रो हाफमा आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । जसमा चेन्नईयनका मोहमद रफीले ५३ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा थप एली साबियाले चेन्नईयनको अग्रतालाई दोब्बर पारेका थिए ।
मनाङका लागि आफिज ओलाडिपोले ८ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ७१ र ७९औ मिनेटमा गोल गरेका थिए । तर ८८औ मिनेटमा रफीले व्यक्तिगत दोस्रो गोल गर्दै चेन्नईयनको जित पक्का गरेका थिए ।