१२ असार २०७६, काठमाडौं
नेताका सार्वजनिक जीवन देखेर मुर्मुरिने, आश्वासन पूरा नभएको गुनासो गर्ने साधारण चरित्र एकातिर छन् तर नेताकै नीजि जीवन भने अस्तव्यस्त छ । त्यसैका एक उदाहरण हुन् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
तत्कालिन माओवादी युद्धको नेतृत्व गरेका उनी शान्ति प्रक्रियाका एक जीवित हस्ताक्षरकर्ता पनि हुन् । यसैले पूरा नभएको शान्ति प्रक्रियाका कामलाई निष्कर्श दिने दायित्व अन्यमा भन्दा प्रचण्डमा ज्यादा छ ।
तर उनको दैनिकी व्यवस्थापनमा कुनै समस्यामा आयो भने हरेक चिजले गति पाउँदैन । त्यसो हुन पाएको छैन ।
०७४ को चुनावताका उनको सचिवालयको नेतृत्व पुत्र प्रकाश दाहालको हातमा थियो । जसले व्यवस्थापकीय कुशलता पाउँदै गर्दा हठात् दुर्घटना भयो– प्रकाशको निधन । ‘सडेन हर्ट अट्याक’का कारण उनको निधन भएपछि प्रचण्डलाई तीनथरी समस्या आइ लाग्यो ।
पहिलो, राजनीतिक जीवनभरी साथ दिएकी पत्नी सीता दाहालको स्वास्थ्यमा गम्भिर असर ।
दोस्रो, शान्ति प्रक्रियापछिको राजनीतिक जीवनमा सुधार भइरहेको दैनिक कार्यसूचीका सञ्चालनको अलमल ।
तेस्रो, पुत्रवियोगले घोचिरहेको मस्तिष्कमा पत्नीको स्वास्थ्य समस्या र अस्रेल्ल बनिरहेको सचिवालयको अवस्था ।
यी सबै अलमललाई समाधानोन्मुख बनाउने जिम्मा एकाएक कान्छी छोरी गंगा दाहालमा आइलाग्यो । झन्डै दुई बर्षको दौरानमा गंगाले प्रचण्डको सचिवालयमात्र होइन, पारिवारिक जीवनलाई पनि गतिशील बनाउने सहजीकरण गरिरहेकी छन् ।
मानौ, अहिले सक्रिय रहेका प्रचण्डको नेपथ्यकी ‘नायिका’ उनै हुन् ।
स्वभाविक रूपमा प्रचण्डको राजनीतिक, सार्वजनिक जीवनमा अनेक प्रश्न उठेका छन् । तर ती कतिपय हल्लाको पछाडी लाग्नु भन्दा राजनीतिक जीवनलाई सफल बनाउनुपर्छ भन्ने मानक बनेकी छन्, गंगा । त्यसैले प्रचण्डसँग कसैले कुनै अपेक्षा र आशा राखेर खुमलटार छिर्यो भने उत्तर पाउँछन्,‘गंगालाई भेट्नु । कुरा गर्नु । मैले गर्न सक्ने सहयोग गर्नेछु ।’
एक हिसाबले प्रचण्डको चलायमान राजनीतिको गति र लयलाई कायम राख्न गंगाको भूमिका कम छैन । परिवारभित्रका कतिपय पीडा, सार्वजनिक महत्वको पदमा रहँदा खेप्नुपर्ने आलोचनाले कहिलेकाहीँ दिक्दारी पनि बनाउँछ । तर त्यसलाई सहज व्यवस्थापन गर्नका लागि गंगाले बाबुको सचिवालयलाई बलियो त बनाएकै छन्, घरभित्र बिरामी आमादेखि परिवारका अन्य सदस्यलाई समेत समेटेकी छन् । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्,‘राजनीति गर्ने अध्यक्ष प्रचण्ड जति आलोचना भए पनि उहाँको दैनिकी निक्कै अस्तव्यस्त हुन्छ । सबैको व्यवस्थापन गंगाले कुशलताका साथ गरेकी छन् ।’
दिनभर बाबुको राजनीतिक कार्यक्रम र विहान बेलुकी आमाको स्वास्थ्यको हेरचाहको जिम्मा पनि उनैलाई छ । किनभने, सिंगापुर, अमेरिकालगायतका मुलुकमा सीता दाहालको उपचारका लागि गंगा आफैं पुगेकी थिइन्, डाक्टरले दिएका सुझाव, औषधि त्यसको प्रयोग र मात्राको ज्ञान पनि उनलाई भन्दा ज्यादा अरुलाई थाहा छैन ।
ठूलो पार्टीको नेता भएका कारण प्रचण्डको दैनिकी विहानदेखि रातीसम्म व्यस्ततामा बित्छ । देशका विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ता, चुनावी क्षेत्रबाट आएका सर्वसाधाण जनता, पार्टीभित्रकै नेताहरूको अनौपचारिक भेट, विभिन्न संघ संस्था र निकायले मागेको समय, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्यसँगका परामर्शको समय, यी सबैको व्यवस्थापकीय जिम्मेवारी गंगाले नै मिलाउनुपर्छ । र, कुनै पनि विषयमा उनले व्यवस्थापकीय कमजोरी छाडेकी छैनन्, कसैलाई गुनासो गर्ने ठाउँ पनि राखिदिएकी छैनन् ।
‘गंगाले कसरी समय व्यवस्थापक गर्नु भएको छ, अहिले खुमलटार होस् वा अन्य ठाउँका भेटघाट र कार्यक्रमको तारतम्य राम्रोसँग मिलेको छ’, गंगा निकटस्थहरूको विश्लेषण छ,‘प्रकाश दाहालले तयार पारेको कार्यसूची र कार्यतालिकालाई अझ प्रभावकारी बनाएर उहाँले मिलाउनु भएको छ ।’