एसईई उत्तीर्ण सांसद शान्ता चौधरीलाई बधाई दिनेको ओईरो : प्रधानमन्त्रीको फोन देखी संसदमै पाइन बधाई



१४ असार २०७६, काठमाडौं

यसवर्षको एसईईमा सर्वाधिक चर्चामा रहेकी परीक्षार्थी सांसद शान्ता चौधरी उत्तीर्ण भए सँगइ गै बधाई तथा शुभकामना दिनेको ओईरो लागेको छ । अर्काको घरमा काम गर्न बस्ने कमलरी पृष्ठभूमिबाट भूमि अधिकारको अभियान्ता हुँदै राजनीतिमा आएकी शान्ता चौधरी छोरीसँगै यसवर्षको एसईई परीक्षामा सामेल भएकी थिइन् ।

एसईईको नतिजा आएपछि शान्तालाई प्रधामनन्त्रीदेखि मन्त्री र अन्य राजनीतिक दलका नेताहरूले फोन गरेर बधाई दिए ।

‘बधाई छ, राम्रो गर्नुभयो । तपाईंको अझ प्रगति देख्न चाहन्छु,’ प्रधामनन्त्री ओलीले फोनमा भनेको शान्ताले जानकारी दिइन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पद्मा अर्याल तथा नेता सुवास नेम्वाङ, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रल लगायतले फोन गरेर शान्तालाई बधाई दिए ।

प्रतिनिधि सभाको बैठकमै पनि उनले बधाई पाइन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा बाेल्दै नेकपाका सांसद विशाल भट्टराईले चौधरीलाई बधाइ दिएका हुन् ।

सांसद भट्टराईले भने, ‘यसै प्रतिनिधि सभाका माननीय शान्ता चौधरी र नेपालकी स्थापित नायिका करिश्मा मानन्धरले राम्रो अंकसहित एसईईमा उत्तीर्ण हुनु भएकोमा बधाइ दिन चाहन्छु,’ । सांसद भट्टराईले शान्तालाई बधाइ दिँदा नेकपा सांसदहरूले टेबल ठटाएर समर्थन गरे ।

शून्य समयमा बाेल्दै नेकपा सचेतक शान्ता चौधरीले आफूलाई बधाई दिने सबैलाई धन्यवाद दिइन् । साथै उनले आफूसँगै एसईई उत्तीर्ण हुने सबैलाई बधाई पनि दिइन् । ‘मलाई बधाइ र शुभकामना दिनुहुने सम्माननीय प्रधानमन्त्री लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, थाेरै नम्बर पाएका विद्यार्थी भाइबहिनीलाई निराश नहुनुस्, अवश्य सफल हुनुहुनेछ भन्न चाहन्छु,’ चौधरीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्