१४ असार २०७६, काठमाडौं
सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर क्षेत्रमा नासपातीको बिरुवा रोपेरे अभियानको शुभारम्भ गरेका हुन् ।
सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेसँगै वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर (आज) शनिबार वृक्षारोपण अभियान सुरु गरिएको हो ।
अभियानमा प्रधानमन्त्री ओलीसहित, उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर, नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनाल, राष्ट्रिय योजना आयोग सदस्य मीन बहादुर शाही लगायत सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, सांसद, बिभिन्न सामाजिक संस्था, राजनीतिक दलका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
आज पहिलो दिन कलंकी–कोटेश्वर सडक खण्डमा तीन हजार विरुवा रोपिएका छन् भने देशभर करिब ५ लाख बिरुवा रोप्ने लक्ष्य रहेको वन तथा वातावरणमन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले जानकारी गराए ।