सञ्चारउद्यमी सिंघानिया हत्याकाण्ड : पूर्वसांसद शाहलाई जन्मकैदको फैसला



१८ असार २०७६, काठमाडौं

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जयकुमार शाह टकलालाई जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको छ । यसअघि ५ जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डमा पनि जन्मकैदको सजाय सुनाएको थियो ।

सिंघानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको थियो । मुद्दाको सुनवाइ गर्दै धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद सञ्जयसहित २ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

अदालतले हत्यामा संलग्न रहेको भन्दै मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । सञ्जयले भनेपछि आफूले सिंघानियाको हत्या गरेको अदालत समक्ष बयान दिएका थिए । साह अहिले काठमाडौंको डिल्लीबजारस्थित कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् ।

त्यस्तै सञ्जयको नजिकका भनिएका रामविनोद यादवलाई ३ वर्ष, एकलाल सहनीलाई १० वर्ष, चनरदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवानाको सजाय अदालतले सुनाएको छ ।

घटनमा संलग्न भनिएपनि रामकरण, ओमप्रकाश यादव र अंसी राईले सफाइ पाएका छन् भने दिपेन्द्रलाई मुलतबीमा राखिएको छ । व्यवसायी सिंघानीयाको २०६६ फागुन १७ गते जनकपुरको शिवचोकमा गोली प्रहार गरी होलीको दिन हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्