‘प्रेमगीत ३’ ले नायिका छनौटमा अन्याय गर्यो भन्दै गरियो चर्को आलोचना, आखिर किन भयो यस्तो ?



२० असार २०७६, काठमाडौँ

निकै लामो समयदेखि चलचित्र प्रेमगीत ३ को नायिकाको चर्चा भैरहेको थियो । ३ महिनाको खोजपछि प्रेमगीत ३ ले आफ्नो चलचित्रको लागि उत्कृष्ट नायिका पनि पाइसकेको छ । चलचित्र प्रेमगीत ३ मा गीत को भूमिकाको लागि नायिका क्रिष्टिना गुरुङ फाइनल भएकी छिन् ।

क्रिष्टिना गुरुङ चलचित्रको लागि फाइनल भएपछि अहिले उनलाई बधाइ दिनेको ओइरो नै लागेको छ । धेरै दर्शकले चलचित्रले उत्कृष्ट नायिका चुनेको बताएका छन् भने केहीले क्रिष्टिनाको विरोध पनि गरिरहेका छन् । २७१४ जनाले अडिसन दिएका थिए । जसमध्येबाट उत्कृष्ट २५ निर्माण टिमले छानेको थियो । तर उत्कृष्ट २५ मा पर्न सफल युवतीको लाइभ अडिसन लिइएको थियो ।

प्रेमगीत ३ को नायिका बन्न चर्चित मोडल अञ्जली अधिकारीले पनि अडिसन दिएकी थिइन् । धेरैले चलचित्रमा अञ्जली नै फाइनल भैसकेको समेत कुरा गरेका थिए । अञ्जलीको समर्थक निकै नै भएकाले पनि यस्तो कुरा बाहिर आएको थियो । यस्तै अडिसन दिएका युवतीमध्ये सबैभन्दा धेरै चर्चा १८ बर्षिया रिया न्यौपानेको भएको थियो । रियाको अभिनयले धेरैको मन जितेको थियो । धेरैले रिया चलचित्रको नायिकाको लागि फिट भएको समेत बताएका थिए । यस्तै डान्सर कविता नेपाली, एलिशा शर्मा, लोकगायिका मञ्जु पौडेलकी छोरीको पनि समर्थक निकै थिए । त्यसैले नायिका छनौटमा अन्याय भएको भन्दै धेरैले कमेन्ट गरेका छन् ।

क्रिष्टिनाले दुख मान्नुपर्ने अवस्था भने छैन । किनकी उनको समर्थनमा पनि धेरै नै दर्शक रहेका छन् । क्रिष्टिनाको अभिनय, बोली र सुन्दर अनुहारले धेरैको मन जितिसकेको छ । उनले चलचित्रमा उत्कृष्ट काम गर्छिन् भन्ने आशा धेरैले बोकेका छन् । क्रिष्टिनाले पनि आफू निकै मेहेनत गरेर चलचित्रमा आउने बताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्