बच्चालाई अभिभावकले सानैदेखि सिकाउनै पर्ने महत्वपूर्ण १० कुराहरु…



२० असार २०७६, काठमाडौँ

आफ्नो बच्चालाई कस्तो बनाउने भन्ने कुराको ज्ञान सबैभन्दा पहिले एउटा अभिभावकलाई हुनुपर्छ । किनकी हामी सानैदेखि त्यहि कुरा सिक्छौँ जुन हाम्रो परिवारले हामीलाई सिकाउनु भएको हुन्छ । हुने विरुवाको चिल्लो पात भने झैँ हामीले आफ्ना बच्चालाई सानैदेखि नै सहि बाटो देखाउँदै लानुपर्छ । यसो गर्नाले बच्चा ठूला भएपछि पनि कहिल्यै गलत बाटो अपनाउँदैनन् ।

केही यस्ता निकै महत्वपूर्ण कुराहरु हुन्छन् । जुन हामीले बच्चालाई सानै उमेरमा नै सिकाउनु पर्छ । ताकि ठूलो भएपछि पनि बच्चामा त्यहि बानी बस्दै जाओस । बच्चालाई आमाबुबाले सिकाउनै पर्ने केही कुराहरु रहेका छन् ।

१.सहि र गलतको फरक छुट्याउन सिकाउनु : आमाबुबाले आफ्नो बच्चालाई सबैभन्दा पहिले सहि र गलतको फरक छुट्याउन सिकाउनु पर्छ । यसो गर्दा बच्चा कहिल्यै गलत बाटोमा जादैँनन् र सधैँ सत्यको साथ दिनेछन् ।

२.आफूभन्दा ठूलो मानिससँग बोल्न सिकाउनु : हाम्रो बोल्ने तरिकाले नै हाम्रो व्यवहार कस्तो छ भनेर सजिलै मानिसले थाहा पाउन सक्छन् । त्यसैले आमाबुबाले आफ्ना बच्चालाई सानैदेखि आफूभन्दा ठूलो मान्छेसँग सम्मान र नम्रसँग बोल्न सिकाउनु पर्छ ।

३.धैर्य बस्न सिकाउनु : रिसले मानिसलाई सबैको नजरमा नराम्रो बनाइदिन्छ । त्यसैले अभिभावकले बच्चालाई धैर्य हुन सिकाउनु पर्छ । यस्तो बानी सानैदेखि बसाल्दा जीन्दगीमा धेरै कुरा हासिल गर्न सकिन्छ ।

४.सेयरिङ गर्न सिकाउनु : हामीले आफ्नो हरेक कुरा साथीभाईसँग सेयर गर्ने बानी बसाल्नु पर्छ । यसो गरेमा आफूलाई आपत परेको बेला अरुले पनि हामीलाई सहयोग गर्छन् । आमाबुबाले बच्चालाई सानैदेखि सेयरिङ गर्न सिकाउनु आवश्यक हुन्छ ।

५.अरुलाई सहयोग गर्न सिकाउनु : यो आमाबुबाले बच्चालाई सानैदेखि सिकाउनै पर्ने बानी हो । हामीले अरुलाई सहयोग गनुपर्छ । किनकी कुनैदिन हामीलाई पनि कसैको सहयोग खाचोँ पर्नेछ ।

६.समयको कदर गर्न सिकाउनु : जीवनमा अगाडी बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी रहेको हुन्छ । हामी समय अनुसार चल्न सकेमा जीवनमा कहिले पनि असफल हुनेछैनौँ ।

७.धन्यवाद दिन र माफी माग्न सिकाउनु : हामीलाई कसैले सहयोग गरेको बेला हामीले धन्यवाद दिनुपर्छ र आफ्नो गल्ती भएको बेला अरुको अगाडी झुक्न पनि सक्नुपर्छ । यसले अरुप्रति सम्मान गर्न सिकिन्छ ।

८.ठूलोको कुरा मान्न सिकाउनु : हामीलाई ठूला मान्छेले गलत कुरा पक्कै सिकाउँदैनन् । त्यसैले आफूभन्दा ठूलाले भनेको कुरा मान्नुपर्छ । सानैदेखि यस्तो बानी बसाल्दै गएमा ठूलो भएपछि पनि हामीमा यहि बानीको विकास हुन्छ ।

९.इमान्दार बन्न सिकाउनु : इमान्दार मान्छे सधैँ सबैको नजरमा राम्रो हुन्छ र आफ्नो जीवनमा सफल पनि हुन्छ । त्यसैले बाबुआमाले आफ्नो बच्चालाई सानैदेखि इमान्दार बन्न सिकाउनु पर्छ ।

१०.प्राथना गर्न सिकाउनु : प्राथना गर्नाले मन शान्त रहन्छ । बच्चालाई आमाबुबाले हरेक दिन प्राथना गर्न सिकाउनु पर्छ । यसले बच्चामा आत्मविश्वास पनि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्