२१ असार २०७६, काठमाडौं
पशु फार्म व्यवस्थित गर्न बूढानीलकण्ठ नगरपालिकाले वडा नं ३ मा रहेको गाई फार्मलाई काउम्याट (गाईलाई ओछ्याउने म्याट) वितरण गरिएको छ ।
बूनपा भित्रका व्यवसायीक पशु फार्महरुलाई व्यवस्थित गर्ने उद्देश्यले बूनपा पशु सेवा शाखा र बूनपा वडा नं ३ ले आफ्नो वडामा रहेका चार वटा गाई फार्मलाई २० ओटा काउम्याट वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले आगामी दिनमा बूनपा नगर दुग्धजन्य पदार्थमा आत्म निर्भर हुनुपर्नेमा जोड दिए । बूनपामा संचालित फार्मलाई योजनाबद्ध रुपमा अगाडी बढाउँदै राम्रोसँग व्यवसाय संचालन गर्न समेत व्यवसायीहरुलाई अनुरोध गरे ।
कार्यक्रमका विशेष अतिथि भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरका बरिष्ठ पशु विकास अधिकृत डा. नरायण बहादुर श्रेष्ठले काउम्याट हेर्दा सामान्य भएपनि गाईको जीवनमा यसले ठुलो सहायोग हुने बताए ।
पशु विज्ञ श्रेष्ठले म्याट ओछ्याउदा गाईको खुर, घुँडा, खुट्टामा मात्र नभएर पुरै शरिरमै सहज हुने गाई विभिन्न रोगबाट बच्ने जानकारी गराउँदै सम्पूर्णलाई सचेत गराए ।
सरकारी निकायबाट पाएको सहयोगलाई सकारात्मक ठान्दै बाँकी थोरै लगानी आफूले पनि गर्नुपर्ने भन्दै सबै गाईको लागि सरकारको मुख नताक्न समेत पशु विज्ञ डा. नारायण बहादुर श्रेष्ठले अनुरोध गरेका थिए ।
बूनपा पशु चिकित्सक काजी बहादुर श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा काठमाडौं महानगरपालिका र काठमाडौंका १० वटै नगरका पशुसेवा शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।