२४ असार २०७६, काठमाडौं
प्रधानमन्त्री ज्यू नमस्कार,
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरेको र मनाउन गईरहेको नेपाल भ्रमण बर्ष–२०२० का सन्दर्भमा केही कुरा भन्न मन लागेर सम्माननिय प्रधानमन्त्रीज्यू समक्ष निम्न लिखित बुँदागत अनुरोध गर्दछु । आशा छ, मैले सरकार बिरोधीको बिल्ला भिर्नुपर्ने छैन ।
१. नेपाल भ्रमण बर्ष २०२० मनाउन गईरहेको तालुकदार निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले आफ्नो मुख्य नेतृत्व मन्त्री नपाएको ६ महिना पुग्न लाग्यो । अझै कति महिना मन्त्रालय मन्त्री बिहिन हुने हो, अझै अत्तोपत्तो छैन ।
२. नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी भित्र्याईएका वाईडबडी जहाज गन्तब्य बिहिन छन् र किस्ता तिर्न नसकेर लिलामीमा जान्छन् कि भन्ने झन् ठूलो चिन्ता बढेको छ । जुन कुरा प्रधानमन्त्रीज्यूले नेपाल वायुसेवा निगमको वार्षिकोत्सवमा व्यक्त गर्नु भएको मन्तब्यबाट झन प्रस्ट हुन्छ ।
३. नेपाल सरकारले यस अघि मनाएको भ्रमण बर्ष सन् १९९८ र २०११ मा तोकिएको संयोजक पर्यटन क्षेत्रलाई बुझेका व्यक्तिहरु थिए, त्यति हुँदा पनि तोकिएको लक्ष्य हाँसिल गर्न सकिएन भने अहिले तोकिएका संयोजक सुरज बैद्य पर्यटन क्षेत्रसँग असम्बन्धित हुनुहुन्छ र आँफै भित्र हराई रहनु भएको छ ।
४. नेपाल सरकारले यति महत्वपूर्ण रुपमा घोषणा गरेको कार्यक्रमलाई जम्मा १० करोड बिनियोजन गरिएको छ । यसका लागी यो पर्याप्त बजेट होईन ।
५. विश्वभर पर्यटनलाई प्राथमिकतामा राखेका मुलुकहरुमा यस्ता अभियानहरु आयोजना गर्दा पर्यटक लक्षित सहुलियत एवं सुविधाहरु वृद्धि गरिन्छ तर हाम्रो देशमा भ्रमण बर्ष लक्षित गरेर पर्यटकको भिसा शुल्क, राष्ट्रिय निकुञ्जहरुको प्रबेश शुल्क, हवाई भाडा, यातायात भाडा आदिमा वृद्धि गरिएको छ ।
६. स्थानीय निकायहरुले आँफुखुशी पर्यटकहरुसँग प्रवेश शुल्क उठाइरहँदा सरकार टुलुटुलु हेरिरहेको मात्र छ ।
७. विदेशी पर्यटकको मुख्य आकर्षण रहेको पदयात्रा क्षेत्रलाई राज्यले कतै चिनेजानेको व्यबहार गर्दैन, विश्व प्रशिद्ध ट्रेकिङ ट्रायलहरु मासिएका छन् । कुनै बैकल्पिक पदमार्ग निर्माणमा राज्यको ध्यान पुगेको छैन ।
८. नेपाल सरकारद्वारा भ्रमण बर्ष संयोजक तोकिएका सुरज बैद्य सगरमाथाको आरोहण रोक्नुपर्छ भन्छन्, पर्यटन क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरुसँग संयोजकको कुनै सहकार्य एवं समन्वय छैन् ।
९. प्रदेश स्तरीय संयोजक र कमिटिमा को, कहाँको मान्छे हो र उक्त व्यक्तिले कुन क्षेत्रको प्रतिनिधित्व गर्छ भन्ने सामान्य विवरण समेत ख्याल नगरी राजनीतिक आग्रहका आधारमा आफ्ना मान्छेहरु भर्ती गरिएको छ ।
१०. नेपालको पर्यटन प्रवद्र्धनको ठेक्का लिएको नेपाल पर्यटन बोर्डले वार्षिक डेढ अर्बको बजेट खर्च गर्छ तर राजनीतिक दबाब एवं संरचनागत बेथितिका कारण विश्व प्रसिद्ध संचार माध्यमहरुबाट नेपालको बिज्ञापन बजाउने, डिजिट्ल प्रविधिद्वारा प्रचार–प्रसार गर्ने जस्ता कार्य गर्न सक्दैन, बोर्ड मन्दिरको छानाहरुमा रङ लगाउने कार्यमा नै आफ्नो रकमको मुख्य हिस्सा खर्च गरिरहेको छ ।
११. भुकम्पपछि सरकारले पर्यटन क्षेत्रलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने कुरा गर्याे, जुन व्यबहारमा लागू भएन, जसबाट साना लगानीकर्ताहरुले आफ्नो व्यवसाय निरन्तर सञ्चालन गर्न सकेनन् ।
१२. निजी क्षेत्रले पनि पर्यटक लक्षित प्याकेजहरु सहित पर्यटक आकर्षित गर्ने कार्यक्रम तय गर्न सकेनन् ।
१३. हाल नेपाल दुईवटा सिजन गन्तब्यको रुपमा मात्र प्रचारित छ, यसलाई नेपाल फर अल सिजन मार्फत बर्षभरी पर्यटकको आगमनको अवस्था निर्माण गर्नुपर्नेछ ।
अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको ठूलो लक्ष्य लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरासँग सहमत छु तर पनि आगामी बर्ष २०२० मा हामी कुनै हालतमा २० लाखको सख्यामा पर्यटक भित्र्याउन सक्दैनांै । हाल होटेलहरु पुरापुर खाली छन्, कयौं पर्यटन क्षेत्रमा आबद्ध मजदुरहरु रोजगार बिहिन बनेका छन, होटेलहरुको अकुपेन्सि ३० प्रतिशत हाराहारिमा मात्र सिमित छ । घोषणाले मात्र सफलता हाँसिल हुन्न, त्यसका लागि पर्याप्त तयारीको आवश्यकता छ । मुलत पर्यटन क्षेत्रसँग सम्बन्धित नितिमा सुधार गर्नुपर्नेछ, पर्याप्त प्रचार–प्रसार गर्नुपर्नेछ । तसर्थ नेपाल भ्रमण बर्ष २०२० लाई स्थगित गरौं र २०२१ लाई ब्यापक रुपमा सफल हुने गरी तयारी गरौं र मनाऔ नेपाल भ्रमण बर्ष ।
(राजेन्द्र प्रसाद सापकोटा पर्यटन व्यवसायी तथा नेपाल पर्यटन वोर्डका पूर्वसदस्य हुन ।)